काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला नर्भिक इन्टरनेसनल अस्पतालले अक्सिजनको चरम अभावका कारण अकल्पनीय घटना हुनसक्ने भविष्यवाणी गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव चरम बन्दै गएको जनाएका छन् ।
अस्पतालले राज्यको अनुदार नीतिले समस्यालाई झन् बल्झाएको र तोकिएको कोटाअनुसार अक्सिजन उपलब्ध हुन नसकेको दाबी गरेको छ ।
विज्ञप्तिमा अक्सिजनको अभावको वर्तमान अवस्था जारी रहने हो भने अकल्पनीय घटना हुनसक्ने भविष्यवाणी गरिएको छ ।
अस्पतालले अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको सेवामा कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘स्थिति हाम्रो काबुबाहिर नजाओस् भनी हामी प्रयत्नशील पनि छौं ।’
कोरोनाको उपचार सुरु भएसँगै अक्सिजनको माग ह्वात्तै बढेको र कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले १०० वटा ठूलो सिलिण्डर आपूर्ति गर्न पाउने भनी कोटा तोकिदिएपनि आपूर्ति हुन नसकेको अस्पतालले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।