बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा कोरोना डरलाग्दो : हरेक १० मिनेटमा १ जनाको मृत्यु

नेपालमा कोरोना डरलाग्दो : हरेक १० मिनेटमा १ जनाको मृत्यु

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 4.6K
    SHARES

  • नेपालमा कोरोना डरलाग्दो : हरेक १० मिनेटमा १ जनाको मृत्यु

    काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउन थालेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै बढी हो ।

    देशभर १८ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २७१ जना अर्थात् ५०.३५ प्रतिशतलाई संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सोमवार ९३ हजार १४१ पुगेको छ ।

    ‘अझै उच्च विन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको देखिन्छ । मृत्यु हुनेको संख्या २ हप्तामा अझ बढ्नसक्छ ।’

    यसअघि बैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । १ हप्तामै हरेक १० मिनेटमा १ जनाको मृत्यु भएको हो । मन्त्रालयको तथ्यांकअनुसार बैशाखका २७ दिनमा ८०१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हालसम्मको मृत्यु संख्याको २० दशमलव ७५ प्रतिशत हो ।

    कोरोनाबाट सोमवारसम्म ३ हजार ८५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा मृत्युदर १ दशमलव १ रहेको छ ।

    पछिल्ला २७ दिनमा सबैभन्दा बढी बाग्मती प्रदेशमा २५५ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २५४, प्रदेश २ र सुदूरपश्चिममा ८०/८०, गण्डकीमा ५४, १ नम्बर प्रदेशमा ४७ र कर्णालीमा २९ जनाले ज्यान गुमाएका छन् । २ जना भारतीय नागरिकको समेत मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

    पछिल्ला २७ दिनमा मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरकी ९ दिने बालिका छिन् । रामेछाप दोरम्बाकी उनको आईतवार मृत्यु भएको हो । बैशाख १८ गते धनुषाकी १० दिनकी बालिकाको कान्ति बाल अस्पतालमा कोरोनाले मृत्यु भएको थियो । यो अवधिमा सबैभन्दा बढी उमेरका काठमाडौं नागार्जुनका १०२ वर्षीय वृद्धको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ ।

    मृतक संख्या बढ्दै जाँदा पशुपति आर्यघाटमा शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । शनिवार ७६, आईतवार ८८ जनाको शव व्यवस्थापन गरिएकामा सोमवार राति १० बजेसम्म ७७ वटा शव व्यवस्थापन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ‘अझै शव ल्याइरहेका छन्, कति थपिने हो टुंगो छैन,’ कोषका एक कर्मचारीले भने ।

    संक्रमण बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा बैशाख १६ देखि निषेधाज्ञा लगाइएको छ । अन्य विभिन्न जिल्लामा संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । बैशाख १६ गतेयता सोमवारसम्ममा अर्थात् १२ दिनमा देशभर ६४८ जनाको मृत्यु भएको छ ।

    ‘अवस्था डरलाग्दो छ । अब कसरी जोगाउने भन्ने चिन्ता छ,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, ‘अक्सिजन व्यवस्थापन गर्नै नसकेर धेरैले ज्यान गुमाए । कतै बेड छ तर अक्सिजन छैन । कतै अक्सिजन छ, बेड खाली नहुँदा उपचार नपाएर ज्यान गुमाउनुपर्‍यो ।’

    संक्रमित भएर घरमै बस्ने र थलिएर मात्रै अस्पतालमा जाने हुनाले पनि समस्या भएको उनले बताएका छन् । ‘अक्सिजनको लेभल एकदमै कमी भएपछि मात्रै अस्पताल पुगेका हुन्छन् । त्यतिबेला अस्पतालमा न बेड हुन्छ न अक्सिजन,’ उनले भने ।

    भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. राजन पाण्डेले ज्वरो आउँदा नजिकको मेडिकलमा ‘वाइडल टेट’ गराएर एन्टिबायोटिक खाएर बस्ने र शिथिल भएपछि मात्रै अस्पतालमा जानेहरुको मृत्यु हुने दर बढेको बताएका छन् । ‘२/४ दिन एन्टिबायोटिक खान्छन् अनि अक्सिजन लेभल ८० भन्दा कम भएपछि मात्रै अस्पताल आउँछन् । अस्पतालको आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामी हुन्छन्, बेड हुँदैन,’ पाण्डेले भने, ‘जसोतसो भर्ना गर्छौं तर राम्ररी केयर गर्न सकिँदैन । पहिला ५० जना बिरामी हेर्ने चिकित्सकले २५० भन्दा बढी हेर्नुपरिरहेको हुन्छ । यस्ता बिरामीलाई १ जना नर्स चाहिनेमा १ जनाले २० जनाभन्दा बढी हेर्नुपरेको छ अनि कसरी बचाउन सकिन्छ ?’

    सरकारले स्वास्थ्य संकटकाल लगाएर निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्नुपर्नेमा निजीलाई बाध्यात्मक व्यवस्था गर्न नसकेको पाण्डेले बताए । मृत्युको प्रमुख कारण अक्सिजन व्यवस्थापन नहुनु रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताएका छन् ।

    ‘एउटा सिलिन्डरमा २ जनालाई बाहिर राखेर अक्सिजन दिइरहेका छौं । यस्तो अवस्थामा गम्भीर खालका बिरामीलाई बचाउनै गाह्रो छ,’ पाण्डेले भने । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend