काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला निजी तथा सामुदायिक अस्पतालमा संक्रमितको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको छ ।
सरकारले शुल्क तिर्ने निर्णयपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी अस्पतालसँग सम्झौता गरेर कोभिड वार्ड सञ्चालनमा ल्याउन लगाएको छ ।
कैलालीमा सरकारीस्तरबाट सञ्चालित कोभिड अस्पतालमा बिरामीको चाप बढेपछि सबैको उपचार सम्भव भइरहेको थिएन । प्रदेशको सामाजिक विकास मन्त्रालयले अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पतालसहित १० निजी अस्पतालसँग उपचारका लागि सम्झौता गरेको छ ।
सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० शय्याको कोभिड वार्ड सञ्चालन हुने भएको छ । निजी अस्पताल नवजीवन अस्पताल र पदमा अस्पतालमा १०–१० शय्या र कैलाली अस्पतालमा ५ शय्याको कोभिड अस्पताल सञ्चालनका लागि सम्झौता भइसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताएका छन् ।
कैलाली अस्पतालले कोरोना संक्रमितको उपचार गर्न सुरु गरिसकेको छ । ‘अहिले अस्पतालमा ३ संक्रमितको उपचार भइरहेको छ,’ अस्पतालका प्रमुख जनकराज जोशीले भनेका छन्, ‘यहाँका सबै निजी अस्पताल संक्रमित उपचार गर्न सहमत भएका छन् ।’
अत्तरियास्थित पदमा अस्पतालले समेत संक्रमितको उपचार सुरू गरिसकेको जनाइएको छ ।
निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष रहेका जोशीले धनगढीका १० अस्पतालले ५–१० शय्यासम्मको कोभिड वार्ड स्थापना गरेर संक्रमितको उपचार गर्ने बताए । शुक्रबार पदमा अस्पताल र धनगढीस्थित नवजीवन अस्पतालले १०/१० तथा १५–२५ शय्यासम्मका अस्पतालले ५/५ शय्याको कोभिड वार्ड सञ्चालन गर्ने सहमति भएको जोशीले जानकारी दिए ।
धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निसर्ग अस्पताल, सिपी हस्पिटल, केजी हस्पिटल, नोभा अस्पताल, सारथी अस्पताल र ओम आशा अस्पतालले ५/५ शय्याको कोभिड वार्ड सञ्चालन गरेर संक्रमितको उपचार गर्ने भएका छन् ।
कैलालीका १० वटा निजी अस्पतालले ६० शय्या बराबरको कोभिड वार्ड सञ्चालन गर्दा अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पताल एकैले ४० शय्याको वार्ड स्थापना गर्ने सहमति सामाजिक विकास मन्त्रालयसँग भएको छ ।
मन्त्रालयसँगको सम्झौताअनुसार कोभिड वार्ड स्थापना गर्न लागेका धनगढी र अत्तरियाका निजी अस्पतालमा उपचार गर्ने संक्रमितको खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ ।
अस्पतालसँग भएको सम्झौताअनुसार सामान्य संक्रमितका लागि दैनिक ३ हजार ५०० रुपैयाँ, अक्सिजन सपोर्टमा राखिने संक्रमितको दैनिक ७ हजार रुपैयाँ, आईसीयूमा भर्ना हुने संक्रमितको १० हजार रुपैयाँ र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दैनिक १५ हजार रुपैयाँका दरले प्रदेश सरकारले खर्च व्यहोर्ने सहमति भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।