काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी चलिरहेका बेला परीक्षण र उपचारमा सहज पहुँच नपुगेको गुनासो सर्वसाधारणबाट आइरहँदा बाँकेस्थित उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कोभिडका बिरामीको परीक्षण र उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन आदेश गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोरोना सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको छ ।
अदालतका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको संयुक्त इजालसले सरकारलाई आदेश दिएको छ ।
संविधान र कानूनद्वारा प्रदत्त कर्तव्यबोध गराई आमनागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचारसम्बन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न गराउनका लागि तत्काल आवश्यक कदम चाल्न माग दाबी गर्दै एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता वसन्त गौतम, महिला कानून र विकास मञ्चका तर्फबाट अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका विश्वजीत तिवारी, मानव अधिकार तथा शान्ति समाजका प्रभाकर भट्टराई र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले संयुक्त रूपमा वैशाख १४ गते रिट दर्ता गराएका थिए ।
रिटमा जिल्ला प्रशासन कार्यालय बाँके, प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति, बाँके, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई विपक्षी बनाइएको थियो । बाँकेको कोरोना महामारी व्यापक फैलिएको छ ।
अन्तरिम आदेश सुनुवाइमा रिट निवेदकका साथै अधिवक्ता प्रह्लादबहादुर कार्की, ईश्वरीप्रसाद ज्ञवालीले बहस गरेका थिए भने विपक्षी जिल्ला प्रशासन कार्यालका तर्फबाट सहन्यायाधीवक्ता देवराज भारतीले बहस गरेका थिए ।
यसअघि सर्वाेच्च अदालतले समेत कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश गरेको भएपनि सरकारले त्यसको कार्यान्वयन गरिरहेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।