काठमाडौं - भारतले नेपाललाई थप एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको एक लाख डोज कोभिशिल्ड खोप हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार उक्त खोप हस्तान्तरण गरेका हुन् ।
जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उक्त खोप हस्तान्तरण गरेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । कार्यक्रममा भारतीयस्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो कन्फरेन्सिङमार्फत उक्त खोप प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका हुन् ।
भारतीय सेनाध्यक्षको उक्त अनुरोधपछि नेपालका लागि भारतका राजदुत महामहिम विनय मोहन क्वात्राले भौतिक रुपमा हस्तान्तरण गरेका हुन् ।
उक्त हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् ।
प्रधान सेनापति थापाले यस सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतीय सेनाको सकल दर्जालाई धन्यवाद दिँदै सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।
महामारीविरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएकोसमेत प्रधानसेनापति थापाले बताएका छन् ।
भारतले यसअघि पनि नेपाल सरकारलाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।