काठमाडौं – केही महिनाअघि बिरामीविहीन बनेको कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढ्न थालेको छ ।
कोरोनाको दोस्रो चरणको संक्रमण बढेसँगै विराटनगर महानगरपालिका–१० स्थित प्रदेश सरकारको कोभिड–१९ अस्पतालमा भर्ना हुने बिरामीको संख्या दिनानुदिन बढ्दै गएको छ ।
हालसम्म अस्पतालमा ७ जना बिरामी भर्ना भएका अस्पतालले जनाएको छ । केही दिनअघिसम्म अस्पतालमा कोही पनि बिरामी थिएनन् । अस्पतालका अनुसार चैत्र २५ गते १ जना र २७ गते ६ जना बिरामी भर्ना भएका छन् । ३ महिलासहित ७ बिरामीमध्ये झापाका ४ जना छन् । विराटनगरका १ जनासँगै २ नम्बर प्रदेशको सिरहाका १ जना अस्पतालमा भर्ना रहेका जनाइएको छ ।
विराटनगरसहित आसपासको क्षेत्रमा कोरोना संक्रमण देखिन थालेपछि अस्पताललाई प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याएको छ । केही महिनादेखि बिरामीविहीन बनेको अस्पतालमा कार्यरत करारका कर्मचारीको करार अवधि नथपी प्रदेश सरकारले हटाएको थियो ।
करारका कर्मचारी हटाएको केही दिनपछि १ नम्बर प्रदेशको राजधानी विराटनगरसहित आसपासमा कोरोना संक्रमित भेटिन थालेपछि सञ्चालनको लागि मन्त्रालयले ३ जना चिकित्सक र ३ जना नर्सलाई पुनः बोलाएर अस्पताल सञ्चालन गरेको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता ओमकुमारी राजवंशीले १ नम्बर प्रदेशका कोरोना संक्रमण पोजेटिभ दरमा वृद्धि भएको बताएकी छन् । राजवंशीका अनुसार २ दिनदेखि पोजेटिभ हुने दरमा १० प्रतिशतले वृद्धि भएको छ । सक्रिय संक्रमित दिनानुदिन वृद्धि हुँदै गएको उनले बताएकी छन् । १० दिनअघि प्रदेशमा ४३ जना पोजेटिभ केस रहेकोमा शनिवारसम्म ११६ जना पुगेका उनले जानकारी दिइन् ।
प्रवक्ता राजवंशीका अनुसार मोरङमा ६३ जना संक्रमति रहेकोमा विराटनगर महानगरपालिका मात्रै ५६ जना पोजेटिभ रहेका छन् । पहिलो चरणमा पनि कोरोना संक्रमणको हटस्पट बनेको विराटनगरमा संक्रमितको संख्या बढेको उनले जानकारी दिइन् ।
भारतसँग जोडिएको सीमा बन्द रहे पनि चोरबाटो भएर दैनिक हजारौंको संख्यामा ओहोरदोहर हुने गरेकाले विराटनगरमा संक्रमणको दर बढेको जनाइएको छ ।
२०७६ चैत्र २१ गतेदेखि सञ्चालनमा आएको अस्पतालले बैशाख ५ गतेदेखि बिरामी भर्ना लिएको थियो । नेसनल ट्रेडिङको भवनमा प्रदेश सरकारले सुरूमा ८० शय्याको कोभिड–१९ अस्पताल सञ्चालन गरेको थियो ।
आईसीयू ८ शय्या, एचडी २२ शय्या र रिकभरी १२ शय्या सहितको अस्पतालमा पहिलो चरणको कोभिड महामारीको बेला दैनिक ४०–६० जना कोरोनाका बिरामी आउने गरेका थिए । चैत्रदेखि सुरू गरेको अस्पतालमा पुस ५ गतेदेखि अक्सिजन सहितको १०० शय्याको कोभिड अस्पताल सञ्चालन गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।