काठमाडौं – सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्ड सहितको निर्देशिका जारी गर्ने तयारी थालेको छ ।
सरकारको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागू हुने भएको छ ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तिमा ३ हप्तासम्म बन्द गर्ने निर्णय प्रस्ताव गरिएको छ । प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुनेछ ।
काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ अर्थात् बेलायतको नयाँ भेरियन्टको मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न जिल्ला कोभिड नियन्त्रण केन्द्र (डीसीसीएमसी) ले व्यवस्था गर्ने भएका जनाइएको छ ।
शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालन गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।
रात्रिकालीन व्यवसायहरू राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरेर एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकमा विज्ञहरूलाई पनि बोलाएर सुझाव लिइएको र सबैका सुझावका आधारमा सीसीएमसीले अन्तिम प्रस्ताव तयार पारी मन्त्रिपरिषद् बैठकमा पेश गरेपछि मात्र निर्णय हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र नयाँ प्रजातिको कोरोना भाइरसको जोखिमबाट जोगिन बैठकले सबैलाई अपिल गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।