काठमाडौं - चीनले एकातिर चिनियाँ खोप लगाएकाहरुलाई मात्रै चीन भ्रमणको अनुमति दिने नियम बनाएको छ भने अर्कोतिर चिनियाँ दूतावासले नेपाल सरकारलाई आफ्ना नागरिकलाई भिसा दिन दबाब दिइरहेको छ ।
चिनियाँ दूतावासको दबाबकै कारण लगानी बोर्डमार्फत चिनियाँ नागरिकलाई भिसा दिन सरकारलाई निवेदन लेखिएको छ । लगानी बोर्डले नेपाल सरकारको गृह मन्त्रालयलाई एक पत्र लेख्दै होङ्सी शिवम् सिमेन्ट प्रालिमा कार्यरत चिनियाँ कामदारलाई नेपाल प्रवेश गर्न सहजीकरण गरिदिन आग्रह गरेको हो ।
लगानी बोर्डले लेखेको पत्रमा भनिएको छ, "१० फेब्रुअरी २०२१ मा जारी नेपाल आगमन सहजिकरणसम्बन्धी अद्यावधिक सूचनाको बुँदा नम्बर २ मा 'नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति दिइने छ । भिसा नभएका विदेशीहरुले विदेशस्थित नेपाली नियोगहरुबाट भिसा लिएर मान नेपाल आउन सक्ने । भिसा लिएर आउन सम्भव नभएमा सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति पेश गरेमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने उल्लेख छ ।"
होङ्सी शिवम् सिमेन्ट प्रालिबाट अनुरोध भए अनुसार १० जना चिनियाँ कामदारहरुलाई नेपाल प्रवेशका लागि भिसा दिन दबाब दिइएको छ । त्यसैगरि विमानस्थल निर्माणमामा संलग्न भएका ८ जनालाई पनि नेपाल प्रवेशको अनुमति दिन पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रलायलाई एक पत्र पठाउँदै मेलम्ची खानेपानी वितरण परियोजनामा कार्यरत ११ जना चिनियाँ नागरिकलाई नेपाल प्रवेश अनुमति दिन पत्र पठाएको छ । पछिल्लो समय नेपाल आउने चिनियाँ नागरिकको आगमनमा तीव्र वृद्धि भएको छ ।
कोरोना महामारी तीव्ररुपमा वृद्धि भइरहेको समयमा नेपालमा चिनियाँ नागरिकलाई आउन दिन नहुने भन्दै आवाज उठिरहेका समयमा चीनले भने आफ्ना नागरिकलाई नेपाल प्रवेशका लागि भिसा प्रदान गर्न नेपाल सरकारलाई दबाब दिइरहेको छ ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।