काठमाडौं – बेलायतमा खतरनाक नयाँ कोरोना भाइरस देखिएपछि विश्वभरी चिन्ता व्यक्त भइरहँदा बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार संक्रमण पुष्टि भएका ती व्यक्तिहरूलाई राजधानी काठमाडौंका विभिन्न होटलमा क्वारेन्टीनमा बसिरहेका छन् ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि नेपाली नागरिकलाई १० दिन अनिवार्य क्वारेन्टीन बस्न आग्रह गरिएको थियो । क्वारेन्टीनमा बसेकामध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
संक्रमितहरूमा नयाँ प्रजातिको कोरोना भएको हो कि होइन यकिन नभइसकेको ईडीसीडीका निर्देशक वासुदेव पाण्डेले बताएका छन् । पाण्डेका अनुसार नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन ‘जिन सिक्विनिङ’ गर्नुपर्ने भएको छ ।
‘जिन सिक्विनिङ नगरी बेलायतबाट आएको आधारमा मात्रै उनीहरूलाई नयाँ प्रकारको कोरोना भाइरस भएको भन्न मिल्दैन,’ डा. पाण्डेले भने, ‘तर बेलायतबाट आएकाहरू अथवा उनीहरूको सम्पर्कमा आएकाहरूलाई कोरोनाको लक्षण देखिए भने सचेत रहनुपर्छ ।’
बेलायतमा देखिएको खतरनाक कोरोनामा अरुमा सर्ने दर र मृत्युदर बढी देखिएको भन्दै विश्वभर चिन्ता व्यक्त गरिएको छ । सरकारले बेलायतसँग हवाई सम्पर्कविच्छेद गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।