काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल मुछिएको स्वास्थ्य सामग्री खरिद सम्बन्धी भ्रष्टाचारको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइएको छ ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो ।
समितिको शुक्रबार बसेको बैठकले मन्त्री ढकालसँग छलफल गरेपछि छानबिनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।
समितिका सचिव डा. रोजनाथ पाण्डेले स्वास्थ्य सामग्री खरीद प्रक्रिया नियमसंगत नभएको पाइएको र खरीद प्रक्रियामा संलग्न पदाधिकारी दोषी देखिने अवस्था आएकाले कानूनी कारवाहीका लागि आयोगलाई लेखेर पठाउने निर्णय भएको बताए । स्वास्थ्य सामग्री खरीद प्रकरणमा बजेटको स्रोत यकिन नगरी र लागत अनुमान तयार नगरी सिधै प्रस्ताव माग गरेर खरीद प्रक्रिया अघि बढाई सम्झौता गरिएपछि बजेट उपलब्ध गराउन मन्त्रालयमा लेखेर पठाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
खरिदमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिको कुनै भूमिका नदेखिएको पाइएको समितिले जनाएको छ । विभागीय प्रमुखले आफू खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको समितिले जानकारी दिएको छ ।
बैठकमा स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको देखिए आफू कारबाही भोग्न तयार रहेको बताएका छन् । ‘स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छु,’ उनले भने ।
विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरिदमा केही महंगो परेको प्रस्टोक्ति उनले दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।