काठमाडौं- पछिल्लो समय देशभर राजतन्त्र र हिन्दु राज्यको पक्षमा निरन्तर प्रदर्शन भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकार पार्टीको आन्तरिक किचलोबाट बाहिर उम्किन नसकेपछि राजावादी आन्दोलन दिनहुँ बढ्दै जाँदा नेकपा त्रसित बनेको देखिन्छ ।
यसबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताबाट विस्थापित शक्तिहरुले पुनःस्थापित हुन नसक्ने बताएका छन् । राजधानीमै समेत राजावादी आन्दोलन बढ्दै गएसँगै नेकपाका प्रवक्ताले नै मुख खोलेका हुन् ।
सोमबार प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिगामी शक्तिले नेपाल सफलता प्राप्त गर्ने नसोचे हुन्छ। निश्चित रुपमा लोकतान्त्रिक अभ्यासको क्रममा केही कमि कमजोरी भएको हुनसक्छु, उनले भने, 'त्यसका लागि आवश्यक समीक्षा गरेर अघि बढ्छौँ।’
सुरुवाती समयमा छिटफुट राजतन्त्रका नारा लागे पनि दोस्रो संविधानसभा निर्वाचनपछिको संविधान लागू भएपछि राजतन्त्रवादीहरु सडकमै प्रदर्शनमा उत्रिएका थिएनन्।
तर, पछिल्ला केही समययता राजतन्त्रको नारा अलि बढी लाग्दै आएको छ। मानिसहरु नेपालको झण्डा बोकेर राजतन्त्रको समर्थनमा सडकमै उत्रिन थालेका छन्। २४० वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्था ढालेर २०६५ सालमा आएको गणतन्त्र विरुद्ध हाल सयौँ मानिस राजतन्त्र फर्काउने भन्दै सडक प्रदर्शनमा उत्रिएका हुन्।
गणतन्त्र स्थापनापछि पनि नागरिकको माग पूरा नभएको भन्दै उनीहरु आक्रोशित बन्दै गएका छन्। कतिपयले त प्रमुख राजनीतिक दलले देशलाई भ्रष्टाचारको दलदलमा डुबाउन खोजेको भन्दै राजतन्त्रको पक्षमा देशभर अभियान चलाउन थालेका छन्।
जनआन्दोलन २०६२र६३ पछि २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो। तर‚ गणतन्त्र स्थापनाको ११ वर्षमै पुनः राजतन्त्रको माग गर्नेहरुको आवाज बुलन्द हुन थालेको छ। मंसिर २० गते काठमाडौंमा राजावादीहरुले बृहत् प्रदर्शन तयारी गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।