काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्धारित स्थायी कमिटी बैठक स्थगित भएपछि आक्रोश नेता कार्यकर्ताले पार्टी कार्यालय धुम्बाराहीबाटै विद्रोहको बिगुल फुकेका छन् ।
ओली समूहबाहेक वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर स्थायी समिति सदस्यको भेला स्थायी समिति बैठक बोलाउन ओलीलाई दबाब दिने निर्णय गरेका छन् ।
बिहीबार दिउँसो पार्टी कार्यालयमा बसेको भेलाले नेकपाका अध्यक्ष ओली तथा प्रचण्डलाई भेटेर दबाब दिने निर्णय गरेका छन् ।
बुधबारको सचिवालय बैठकमा ओली एकाएक उठेर भागेपछि एजेन्डा पारित हुन सकेन, जसले गर्दा बिहीबारका लागि निर्धारित बैठक बस्न नसकेको जनाइएको छ ।
भेलाले अध्यक्ष ओलीलाई दबाब दिनको लागि स्थायी कमिटी सदस्य भीम रावल र जनार्दन शर्मालाई नेतृत्वको जिम्मा दिएको छ । भेलामा सहभागी स्थायी समिति सदस्यले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर आगामी कदम चाल्न रावल र शर्मालाई जिम्मेवारी दिएका हुन् ।
धुम्बाराहीको छलफल अनौपचारिक भएको नेकपा स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए । पार्टीभित्र विवाद बढ्दै गएको, पार्टी बैठक टार्ने काम भएको, सरकार पार्टीप्रति जवाफदेही नभएको भन्दै स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै आएका छन् ।
पार्टीमा एक व्यक्ति एक पदको एजेन्डालाई स्थापित गराउने विषयमा भेलामा सहभागी सबै स्थायी कमिटी सदस्य एकमत भएका छन् । प्रधानमन्त्री ओलीले भने बहुमत सदस्यको एजेन्डालाई बेवास्ता गर्दै आफ्नो गुटका नेतालाई दोहोरो जिम्मेवारी दिएका छन् ।
ओली गुटका नेता शंकर पोखरेल प्रदेश ५ सरकारको मुख्यमन्त्री र प्रदेश इन्चार्ज भएकोमा वरिष्ठ नेता नेपाल समूहले चर्काे असन्तुष्टि व्यक्त गरेको छ । यसरी कसैलाई जिम्मेवारी नै नदिने र कसैले दोहोरो जिम्मेवारी पाउने अवस्था अन्त्य गर्न आवश्यक सुधारको माग उठ्दा ओली रिसाएर पार्टी बैठकबाट टाढा भाग्दै गएका नेकपा स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।