काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका छन्। बिहीबार बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई शहीदप्रति श्रद्धाञ्जली दिएका नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए।

नेपाली सेनाका तर्फबाट प्रधानसेनापति थापाले पनि भारतीय सेनाका लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक गौतम बुद्धको प्रतिमा हस्तान्तरण गरे। त्यसअघि सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

उक्त अवसरमा उनले यसअघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुना सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
त्यसपछि प्रधानसेनापति थापा र नरवणेबीच शिष्टाचार भेवार्ता भयो। भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको जङ्गी अड्डाले जनाएको छ।

छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतिकरण गरिएको थियो।
यस्तै, दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तेह्रौं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा नेपाली सेनालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीका साथै भेन्टिलेटरहरू समेत हस्तान्तरण गरेको निर्देशनालयले जनाएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा सेनाप्रमुख नरवणे तीन दिने नेपाल भ्रमणमा आएका हुन् ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।