काठमाडौं - नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच गत सोमबार मन्त्रिपरिषद् बैठकले गरेको नियुक्तिका विषयमा विवाद भएको छ ।
अध्यक्ष दाहालले पार्टी विवाद सल्टाउन कार्यदल गठन गरेका बेला सरकारले फेरि रिपोर्ट नपर्खी नियुक्तिहरू गरेको भन्दै प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को उपाध्यक्षमा इलामका लोकनाथ सुवेदी, युवा व्यवसायी तथा साना कोषको उपाध्यक्षमा खोटाङका देवराज रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा कास्कीकी दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सरकारले बेल्जियम र युरोपेली युनियनको राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तपास अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो ।
राजदूत नियुक्त गर्ने निर्णय गरिएका तीनै जना परराष्ट्र मन्त्रालयका कर्मचारी हन् । राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
यसमध्ये प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारीलाई काम नलगाउन र पहिले कायम रहेकै किशोर श्रेष्ठलाई काम गर्न दिन सर्वोच्चले बुधबार अन्तरिम आदेश जारी गरेको थियो । सोमबारका यी नियुक्तिहरूमा भोलिपल्टै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेट गरी आफ्नो असहमति रहेको जानकारी गराएका थिए ।
बुधबार दाहाललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटी कार्यदल रिपोर्ट नआउँदै सरकारले नियुक्ति गर्न थाल्ने हो भने कार्यदल गठनको औचित्यता के हुने ? भन्ने प्रश्न गरेका थिए । कार्यदलको बैठकमा पनि नेताहरू भीम रावल, सुरेन्द्र पाण्डेलगायतले नियुक्तिका विषयमा विरोध जनाइरहेका थिए ।
बिहीबार दाहालले ओलीसँग कार्यदल गठनयताका सबै नियुक्ति खारेज गर्न माग गरेको दाहाल निकट स्रोतले बतायो । ‘कार्यदल बनेयताका सबै नियुक्ति खारेज गरौं, नत्र कार्यदल गठनको के अर्थ रहन्छ, तपाईं (प्रधानमन्त्री) ले उही शैलीमा नियुक्ति गर्दै जाने हो भने ? ’ दाहालले प्रधानमन्त्री ओलीसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले भन्यो ।
ओलीले भने पहिले नै प्रक्रियामा रहेका र नगरी नहुने नियुक्ति मात्र सरकारले गरेको भन्दै यसलाई अन्यथा विवादको विषय नबनाउन दाहालसँग आग्रह गरेका छन् ।
दाहालले भने आफू र वरिष्ठ नेता माधव नेपाललाई सामाजिक सञ्जालदेखि विभिन्न अनलाइनहरूमा लेख लेख्दै हिँड्नेहरूलाई प्रधानमन्त्रीले छानीछानी नियुक्ति दिएकोमा आपत्ति जनाएका थिए ।
दाहालको यस्तो टिप्पणीमा भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नजनाएको स्रोतले बतायो । ओली –दाहाल बिहीबार झन्डै डेढ घण्टा बालुवाटारमा छलफल गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।