काठमाडौँ - रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीबाट ठूलो मानवीय क्षति भएको हो।
प्राधिकरणका अनुसार बाढीपछि फेला परेका मृतक तथा मानव अवशेषको विवरणमा ५४९ पुरुष, ३३६ महिला र ५२६ वटा आंशिक मानव अंग समावेश छन्। बाढीमा परेर अझै ५ हजार ८७५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। उपलब्ध विवरणअनुसार सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ। चितवनमा मात्रै ३६४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
त्यसैगरी नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३ र रसुवामा १९९ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार गोरखा र धादिङमा समान ७२/७२ जनाको मृत्यु भएको छ भने तनहुँमा ३८ जनाले ज्यान गुमाएका छन्।
१३ हजार ७८४ जनाको सकुशल उद्धार
विपद्पछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित तथा जोखिममा परेका नागरिकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकाय परिचालन भएका छन्। दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा हवाई माध्यमबाट समेत उद्धार तथा राहतका काम सञ्चालन गरिएको छ।
उद्धार अभियानअन्तर्गत नेपाली सेनाले हालसम्म १ हजार ६९२ वटा हवाई उडान सम्पन्न गरेको छ। त्यस्तै सशस्त्र प्रहरी बलले ३२० वटा हवाई उडानमार्फत खोज, उद्धार तथा प्रभावितको स्थानान्तरणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। प्राधिकरणले संकलन गरेको विवरण समयअनुसार अद्यावधिक भइरहेकाले मृतक, बेपत्ता तथा उद्धार गरिएकाको संख्यामा थप परिवर्तन हुन सक्ने जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।