काठमाडौँ - रसुवाको भोटेकोशीमा गत भदौ १० गते बिहान आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगर बस्ती गहिरो शोकमा डुबेको छ।
रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारू अब कहिल्यै नफर्किने गरी अस्ताएका छन्।
आगामी दशैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने सपना बोकेका यी युवाहरू क्षतविक्षत अवस्थामा फर्किंदा सिङ्गो बस्ती नै स्तब्ध बनेको छ। बाढीमा परेर दुई युवकको निधनले यतिबेला कोहलपुर नगरपालिकाको लोकनगर बस्ती शोकमा डुबेको कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना अधिकारीले बताएकी छिन्। २८ वर्षीय महेश परिवारका एक्ला छोरा थिए र घरको सम्पूर्ण आर्थिक भार उनकै काँधमा थियो।
रसुवामा मिस्त्रीका रूपमा काम गर्ने उनी नियमितजसो घरमा फोन गरेर हालखबर साट्थे, तर भदौ १० गतेको बाढीपछि उनको फोन सधैँका लागि मौन भयो। घटनाबारे दुखेसो पोख्दै महेशका वृद्ध बुबा विश्रामले भनेका छन्, “सुरुदेखि नै फोन लागेन, लासै भए पनि भेटिन्छ कि भन्ने आशले चितवन पुग्यौँ, छोरो मृत अवस्थामा भेटियो। बाढीले छोरालाई बगाएपछि बुढेसकालमा सहारा खोसिएको छ।” बुबा विश्रामका अनुसार मृतक महेश रोजगारीको सिलसिलामा २०८३ असार १० गते रसुवा गएका थिए र त्यहाँ गाउँले साथीहरूसँगै विद्युत् परियोजनामा काम गर्दै आएका थिए।
उनको परिवारमा आठ र दुई वर्षका दुई छोरा, श्रीमती र वृद्ध बुबाआमा रहेका छन्। त्यसैगरी, गत वैशाखको अन्तिम साता रोजगारीको खोजीमा रसुवा पुगेका कोहलपुर लोकनगरकै २३ वर्षीय कबीरलालले पनि आगामी दशैँमा घर फर्किने योजना बनाएका थिए। तर भदौ १० गतेको बाढीले उनलाई दशैँ पर्खिन दिएन। बाढीपछि भाइको खोजी गर्दै जाँदा चितवनको भरतपुर अस्पतालमा शव फेला परेको दाजु सुग्रीप थारुले बताएका छन्।
दुखेसो पोख्दै सुग्रीपले भनेका छन्, “भरतपुर अस्पतालमा सयौँ लास थिए, खोजी गर्दा भाइको दायाँ खुट्टा छिनिएको र क्षतविक्षत लास भेटियो। घरबाट जिउँदो भेट्ने आशा लिएर खोजीमा पुगेका हाम्रो आशा सधैँका लागि समाप्त भयो।” निधन भएका महेश र कबीरलालको शव कोहलपुरस्थित शवदाह गृहमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन्।
उनका अनुसार कोहलपुरका अझै ११ जना नागरिकहरू सम्पर्कविहीन रहेको विवरण आफन्तहरूले नगरपालिकामा टिपाएका छन्। नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५० हजार तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।
यसका साथै, बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायत, वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोलीलाई सम्बन्धित क्षेत्रमा पुगेर समन्वय गर्न खटाइएको छ। विपद् प्रभावितहरूको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरिएको छ।
राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरूले तीनदेखि सात the दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगरप्रमुख आचार्यले जानकारी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।