काठमाण्डाै । सरकारले चालक अनुमतिपत्र अर्थात् 'ड्राइभिङ लाइसेन्स' लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्याउने प्रस्ताव गरेको हो । यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ ।
अहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको मन्त्रालयका यातायात शाखा प्रमुख शङ्कर सिंह धामीले जानकारी दिनुभयो । किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि उमेर बढाउन प्रस्ताव गरेको उहाँको भनाइ छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गएको साउनदेखि फागुन १९ गतेसम्म ६ हजार ८ सय ३४ जना चालकबाट गाडी दुर्घटना भएकामा झन्डै एक तिहाइ अर्थात् २ हजार २ सय जना चालकको उमेर १६ देखि २५ वर्ष छ । सबैभन्दा कम दुर्घटना ४१ वर्षभन्दा बढी उमेरका चालकबाट भएको पाइन्छ ।
सरकारले ६० वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिले ठूला र मझौला गाडी चलाउने अनुमतिपत्र नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ । यस्तै मन्त्रालयले कम्तीमा कक्षा ८ उत्तीर्ण भएकालाई मात्रै चालक अनुमतिपत्र दिने प्रस्ताव पनि गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा दुई पाङ्ग्रे गाडीको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम पनि प्रस्ताव गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।