काठमाडौं । देशैभरका मगर समुदायले बिहीबार ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदैछन्। यो दिनलाई मगर दिवस पनि भनिन्छ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ। पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो। यही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाइन्छ।
२०४८ सालको चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ छ। यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो ।
यो अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन्। पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी सङ्घको स्थापना दिवसका अवसरमा बिहीबार मातहतका सबै कार्यालय बन्द हुने जनाएका हुन्।
यहाँका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।