काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् । चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘चिन्दिनँ’ भनेपछि आवेशमा आरोपीले चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चन्द्रबहादुरले बयानमा भनेका छन्, ‘सरुसँग पहिलादेखि नै चिनजान थियो, मैले विदेशबाट रकम पनि पठाइरहेको थिएँ ।’
युवतीले ‘बेवास्ता’ गरेपछि उनीहरूको बिचमा विवाद भयो । थानकोट बजारमा सरुको बहिनीको तरकारी पसल छ । पसलमा उनलाई भेटेर आरोपीले चक्कु प्रहार गरे ।
घाइते सरुलाई सुरुमा सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा लगिएको थियो । मेड प्वाइन्टले रिफर गरेपछि उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।