ललितपुर- ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको समूहगत छलफलमा युवाहरूलाई प्रतिनिधित्व गर्नेबारे पार्टीको नीति स्पष्ट हुनुपर्ने विषय उठेको छ।
काठमाडौँका महासमिति सदस्य सुशील भट्टले पार्टीमा युवाको प्रतिनिधित्व कति हुने भन्ने स्पष्ट संख्या उल्लेख गर्न गरेका छन्।
उनले पार्टीमा युवालाई प्रतिनिधित्व दिने विषयमा बेवास्ता गरेको भन्दै आपत्ति पनि जनाए। भट्टले काठमाडौँ महानगरका युवा मेयर बालेन्द्र शाह (बालेन)लाई देखेर नेताहरूले चिटचिट पसिना काडेको भन्दै युवालाई समेट्न आग्रह गरे।
'विधानमा युवा प्रतिनिधित्व कति हुने हो तोकियोस् । बालेनलाई देखेर हाम्रा नेताले चिटचिट पसिना काढ्छन्,' उनले भने, 'पार्टीमा युवा प्रतिनिधित्व वेवास्ता गर्छन् । पार्टीभित्रको अवसर भए श्रीमान श्रीमती भजिताले पाएका छन् ।' 'पाँच वर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूर्ण रुपमा सभापतिय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्न पनि सक्दिन,' उनले भने, 'जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाईमात्र भोट हाल्ने वातावरण बनाओस् ।'
त्यस्तै महासमिति सदस्य गोपाल विश्वकर्माले गठबन्धन गर्ने नगर्ने विषयमा केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे। उनले भने, ''गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट्र अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस् ।'
उनले पार्टीको चुनावी घोषणापत्र कार्यान्वयनमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए। 'पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,' उनले भने, ' यदि यो कार्यान्वयन भएको भए व्यवस्था विरोधि आन्दोलन हुने नै थिएन ।'
स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गरे। उनले समस्या समाधानको उपाए खोज्न पनि नेतृत्वलाई आग्रह गरे। 'समस्याको पहिचान गरेर हामीले छुट पाउदैनौ समाधान पनि गर्नपर्छ,' उनले भने, ' सरकारमा उपप्रधानमन्त्री हुनुहुछ ? केके गर्ने केके गरियो खाका खोई ? हामी कहाँ पुग्ने दशपछि योजना खोई ? हामी पछि पर्नुको कारण गठबन्धन हो । मेरो ठाउँमा मैले संगठन गर्ने चुनाव लड्न नपाउने ? एक्जिक्ट पोलिसी हुनैपर्छ ।'
काठमाडौँकी महासमिति सदस्य गीता दवाडीले गठबन्धनका कारण कांग्रेसीले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्न नपाएको भन्दै गुनासो गरिन्। ' हामीले गठबन्धन बनाएर अरु पार्टीलाई भोट हाल्न पर्यो । हाम्रा सन्तानले तपाईहरुले अरु पार्टीलाई भोट हाल्न नपर्ने बनाएर आउनु भनेर पठाउनुभएको छ ' उनले भनिन्, '७७ जिल्लामा १ जना महिला सभापति खोई ? हामी महिला पुरुषहरुले जे भन्यो त्यसमा सहिछाप गछौं ।'
मकवानपुरकी महासमिति सदस्य पवित्रा विकले समानुपातिक र प्रत्यक्षतर्फ एक /एक पटकमात्रै चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गरिन्। सिन्धुलीका महासमिति सदस्य गोविन्द पहाडीले गठबन्धनबारे छलफल नै गर्न नपर्ने बताए। उनले भने, ' 'गठबन्धन बेकारको विषय हो यो आवश्यक छैन । राष्टियता लोकतन्त्र प्रति हाम्रो दृष्टिकोण के हो ? यो स्पष्ट हुनुपर्छ । '
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।