काठमाडौं- नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ।
नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबीआईबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको हो।
राष्ट्र बैंकका अनुसार भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो।
राष्ट्र बैंक र आरबीआईबीच बिहीबार सम्झौता भएको हो। सम्झौताका लागि राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारी भारत मुम्बईमा छन्। गभर्नर अधिकारी र आरबीआई गभर्नर शक्तिकान्त दासको उपस्थितिमा मुम्बईमा सम्झौतामा हस्ताक्षर भएको हो।
सरकारले यसअघि नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सुरु गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण क्रममा सम्झौता भएको थियो। गत जेठमा भारत भ्रमणका बेला प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी हुने सम्झौता भएको थियो।
राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र आरबीआईको समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच अन्तरदेशीय विद्युतीय भुक्तानी सम्झौता भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।