काठमाडौं - रक्षक नै भक्षक भएपछि अब कसलाई विश्वास गर्ने भन्ने चिन्तामा मुगुवासी परेका छन् ।
मुगुकी एक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार घटनामा नगर प्रहरी र सरकारी कर्मचारीसमेत संलग्न रहेको खुलेपछि सर्वत्र चिन्ता उत्पन्न भएको हो । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
अन्य चारजना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार अभियोगमा प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया र १८ वर्षमुनिका तीनजनालाई पक्राउ गरेको छ ।
बलात्कारमा संलग्नताको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य तीनजना १८ वर्षमुनिका किशोर फरार रहेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर थापाले जानकारी दिए ।
बालिकाको पेटमा गर्भ बसेको तथ्य खुलेपछि मात्रै उनी बलात्कारमा परेको घरपरिवारले थाहा पाएको थियो । पेट दुख्ने समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको १८ हप्ताको गर्भ रहेको खुलेपछि घटना बाहिरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।