काठमाडौं - आगामी पुस २० र २१ गते अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनाव हुँदैछ ।
नाडामा हाल तीन हजार तीन सय सदस्य छन् । चुनावले अध्यक्षसहित १७ जना पदाधिकारी रहनेछन् । तीनजना नयाँ कार्यसमितिले मनोनयन गर्नेछ ।
कार्यसमितिमा आउनका लागि देशका चर्चित घरानियाका व्यवसायी तँछाड मछाड गर्छन् । यसपटक पनि व्यवसायीहरु दुई कित्तामा उभिएर चुनावी मैदानमा छन् ।
अध्यक्षमा करण चौधरी र आकाश गोल्छा मैदानमा छन् । अध्यक्षमा उम्मेदवार घोषणा गरेका गोल्छा र चौधरी दुवैले प्यानल तयार पारेका छैनन् ।
तर मोटामोटी रूपमा को को रहने भन्ने खाका तयार पारिसकेका छन् । चौधरी ग्रुप र गोल्छा ग्रुपमध्ये एउटाको हातमा नेतृत्व जाने भएकाले पनि जसरी पहिले चुनावमा बढी रौनक हुन्थ्यो, त्यो अहिले देखिएको छैन ।
दुवैले अध्यक्षमा एकले अर्कालाई छाडिदिए हुन्थ्यो भन्ने मनसाय राखेको देखिन्छ । व्यवसायीहरूका अनुसार गोल्छा र चौधरीले २० सदस्यीय कार्यसमितिमा १०–१० जनाको सूची तयार पारिसकेका छन् ।
जो अध्यक्ष भए पनि बराबरी सदस्य हुने गरी सहमति खोजिएको छ । सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले करण चौधरीलाई अध्यक्षमा समर्थन गरेका छन् ।
करणको पक्षमा चौधरी ग्रुप, आईएमई ग्रुप, सिप्रदी, एमएडब्लु, एससिटी ग्रुपलगायतको समर्थन छ । नाडाका सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल करण चौधरीको समूहमा छन् ।
महासचिवमा मिलनबाबु आउनेछन् । सचिवमा अहिलेकै विक्रम सिंघानिया हुनेछन् । यसैगरी कोषाध्यक्ष पंकज अग्रवाल हुन सक्ने सम्भावना छ ।
आकाश गोल्छातर्फ निराकार र स्पेयर पार्ट्सबाट सुनिल रिजाल उपाध्यक्षमा उठ्दैछन् । साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रकाश सिग्देल, सगुन ताम्राकार, प्रदीपमान शाक्य, रिद्धि कार्की सदस्यमा रहनेछन् ।
यो टिमलाई कृष्णप्रसाद दुलाल, गोल्छा ग्रुप, जगदम्बा मोटर्स, नाडाका अध्यक्ष ध्रुव थापा, विशाल ग्रुपको साथ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।