बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपाली सेनाभित्र अर्को लफडा, भावी सेनापतिको लाइनमा रहेकामाथि कीर्ते आरोप

नेपाली सेनाभित्र अर्को लफडा, भावी सेनापतिको लाइनमा रहेकामाथि कीर्ते आरोप

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १६ २०८०

  • 5.8K
    SHARES

  • नेपाली सेनाभित्र अर्को लफडा, भावी सेनापतिको लाइनमा रहेकामाथि कीर्ते आरोप

    काठमाडौं - नेपाली सेनाभित्र अर्को लफडा देखिएको छ । भावी सेनापतिको रोलक्रममा राखेर उपरथी ताराध्वज पाण्डेमाथि कीर्तेको आरोप लागेको छ ।

    अबको १० महिनापछि सेनापति बन्ने लाइनमा रहेका पाण्डेलाई गरेको रथीमा बढुवा सिफारिस विवादमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पाण्डेको उमेर विवाद र नागरिकता विवादको उजुरी परेको छ ।

    प्रधानसेनापतिको कार्यालय, बढुवा समिति, रक्षा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत पाण्डेविरुद्ध उजुरी परेको छ ।

    उजुरीमा पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम किर्तेमा कारबाही गर्न माग गरिएको छ । नागरिकता र उमेरका विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथीमा बढुवाका लागि सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्थाअनुसार, जंगीअड्डाले सूचना प्रकाशित गरेसँगै उनको विवादास्पद सरकारी कागजातहरू बाहिर आएका छन् ।

    बाहिर आएको नागरिकताको प्रमाण पत्रअनुसार पाण्डेले दुई वर्षअघि नै अवकाश पाइसक्नुपर्ने थियो । तर अहिले तिनै व्यक्ति प्रधानसेनापतिको लाइनमा राखिएको भन्दै आलोचना हुन थालेको छ ।

    अख्तियारमा परेको उजुरीमा पाण्डेका दुईवटा नागरिकता भएको र त्यसको छानविन गर्न माग गरिएको छ । २०८० कात्तिक १० गतेको उजुरी दर्ता नं ८०८१–०२५९७१ मा भनिएको छ, ‘निज उपरथी ताराध्वज पाण्डेले दुईवटा नम्बरको नागरिकता लिएको बुझिएको र निजको नागरिकता नं. ३६०८६ को प्रतिलिपिसहित पेस गरिएको साथै अर्को नागरिकता नं. १६८१–१६०८६ रहेको सो को प्रमाणसमेत यसै निवेदन साथ संलग्न राखिएको हुँदा निष्पक्ष छानविन हुन विनम्र अनुरोध गर्दछु ।’

    उजुरीअनुसार २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनले २०२३ मंसिर २३ को जन्म मिति उल्लेख गरेका छन् । तर, उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति २०२१ माघ १२ उल्लेख छ ।

    जन्ममिति २०२१ माघ १२ कायम हुँदा २०७८ माघ १२ मै अवकाश पाउनुपर्ने थियो । सैनिक नियमावलीअनुसार उपरथीको अवकाशको उमेरहद ५७ वर्ष हुन्छ । पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्ममिति २०२१ माघ १२ गते उल्लेख छ ।

    तर, नागरिकतामा भने २०२३ मंसिर १३ गते बनाइएको छ । युद्धकार्य विभागका प्रमुखउपरथी पाण्डेलाई सात दिनभित्र बढुवा सिफारिस गर्ने गरी २९ असोजमा सूचना प्रकाशित भए पनि हालसम्म फाइल अघि बढिसकेको छैन । यद्यपि प्रधानसेनापति हाल देश बाहिर रहेकोले र उनी बिहीबार नेपाल फर्केलगतै यस विषयमा निर्णय हुने छ ।

    प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार स्वदेश फर्किंदैछन् । नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी सातदिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीनतारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ । उनको उमेर सम्बन्धी विवाद सार्वजनिक भएपछि जंगी अड्डाले समेत खण्डन गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ३० २०८०१२:३८:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend