काठमाडौं - कम्युनिस्टहरूको जालझेलका कारण कोशी प्रद्रेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री गुमाउने खतरा देखिएको छ ।
एमालेका हिक्मत कार्की र कांग्रेसका उद्धव थापा दुई दुईपटक मुख्यमन्त्री बने पनि दुवै लामो समय पदमा टिकिरिहन सकेका छैनन्।
कोशी प्रदेश सभामा रहेको अंकगणितका कारण सरकार अस्थिर देखिएको हो । अहिले कोशीमा कांग्रेसलाई एक्ल्याएर कम्युनिस्टहरूले नै सरकार चलाउने रणनीति अघि सारेका छन् ।
उनीहरूको रणनीतिका अघि कांग्रेसका नेताहरू कमजोर देखिएका छन् । अहिले प्रदेश सभाको तेस्रो दल माओवादीले मुख्यमन्त्री पाउने सम्भावना धेरै देखिएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा र माओवादीका इन्द्रबहादुर आङ्बोको नाममा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको गठबन्धन दलको अनौपचारिक बैठकमा माओवादीले आङ्वोको नाम प्रस्ताव गरेको हो ।
आङ्बोको नाममा कांग्रेस सकारात्मक भएको माओवादीका नेताहरूले प्रचार सुरु गरेका छन् । छलफलमा कांग्रेसले थापाको नामसमेत प्रस्ताव गरेको थियो । तर माओवादीले अस्वीकार गरेको थियो ।
अहिले बन्ने मुख्यमन्त्री नै चार वर्ष कायम रहने देखिएको छ । सोही कारण माओवादीले मुख्यमन्त्रीको अडान नछाडेको हो ।
सत्ता गठबन्धनले सरकार गठनका लागि आफूहरुको पक्षमा बहुमत रहे पनि मध्यावधिमा नजाने गरी राप्रपासहितका दलसँग छलफल भइरहेको जनाएको छ ।
कांग्रेसमा संस्थापन इतरका नेतालाई संसदीय दलको नेता परिवर्तन गरेर पार्टीबाटै मुख्यमन्त्री बनाउनुपर्ने छलफल चलिरहेका बेला सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।