काठमाडौं - एक थान मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले संसदीय व्यवस्थाकै हुर्मत लिएको छ ।
कोसी प्रदेशमा पार्टीका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसले संसदीय मूल्यमान्यताकै उपहास गरेको छ ।
९३ सदस्यीय कोसी प्रदेशमा सरकार बनाउन ४७ सांसद चाहिन्छ । तर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँग ४६ सांसद मात्रै थिए । ४७ सांसद बनाउन कोसी प्रदेशका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर गरिएपछि यो विवादमा परेको छ ।
कांग्रेस नेता डा.शेखर कोइरालाले समेत संसदीय मूल्यमान्यताको उपहास भएको र संविधानविपरीत भएको भन्दै आपत्ति जनाइसकेका छन् ।
संविधानविद् भीमार्जुन आचार्यले पनि सभामुखले सरकार बनाउन हस्ताक्षर गर्नु संविधानविपरीता भएको उल्लेख गरेका छन् । सभामुखले सदनमा भएको भोटिङमा बराबर मत भए मात्र आफ्नो मत जाहेर गर्न पाउने हो ।
सभामुखकै पदमा बसेर सरकार बनाउन नमिल्ने अधिवक्ता आचार्यको तर्क छ । त्यसैले सबै कुरा जान्दाजान्दै पनि कांग्रेस नेतृत्व संविधानविपरीत जान किन बाध्य भयो भन्ने चासो उत्पन्न भएको छ ।
कोसी प्रदेशमा निकै कसरतपछि नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदैछन् । उनले आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।
मुख्यमन्त्री थापा विगतमा दुईपटकसम्म संघीय सांसदको निर्वाचनमा पराजित भएर प्रदेश सभाको यात्राको बाटो लिएका कांग्रेसका नेता हुन् ।
थापाले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको संघीय संसदको प्रत्यक्ष निर्वाचनमा एमालेका उम्मेद्वारसँग पराजय भोगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।