काठमाडौं - कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धन नेपाली कांग्रेसभित्र नेतृत्वका लागि हानथाप छ ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापासँगै इतर समूहका नेता केदार कार्की मुख्यमन्त्रीको दाबेदार छन् । अमृत अर्याल, भीम पराजुली, हिमाल कार्कीले चाहना व्यक्त गरेका छन् ।
पराजुलीले त बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई दलको नेता बनाउन आग्रह पनि गरिसकेका छन् ।
‘प्रशासन बुझेको छु, काम गरेको अनुभव छ, सरकार सञ्चालन गर्न सक्छु,’ पराजुलीले भने, ‘भोलि संसदीय दलको नेताको विकल्प आयो भने मलाई बनाउनुपर्यो भनेर कुरा राखेको छु ।’
जवाफमा देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताएका थिए । गठबन्धनमा सहभागी हुन राप्रपा सकारात्मक देखिएको देउवाले जवाफ दिएका थिए ।
राप्रपा गठबन्धनमा सहभागी हुँदा उद्धव थापाको विकल्पमा उम्मेदवार खोज्नुपर्ने पक्षमा छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच सम्बन्ध राम्रो छैन । उनीहरु झापा ३ का प्रतिस्पर्धी हुन् ।
स्रोतका अनुसार कांग्रेसले सिटौलाको व्यवस्थापन गरेमा लिङ्देन कोशी सरकारमा राप्रपालाई सहभागी गराउने मनस्थितिमा पुगेका छन् । उनले यस विषयमा निर्णय गर्न शुक्रबार राप्रपाको बैठक बोलाएका छन् ।
कांग्रेस इतर समूहका नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालले केदार कार्कीलाई गठबन्धन उम्मेदवार बनाउन पार्टीसँगै गठबन्धन दल माओवादीलाई पनि दबाब दिइरहेका छन् ।
कोइराला र रिजालले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कार्कीलाई बनाउन प्रस्ताव गरेका थिए । कार्कीलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आठजनाको हस्ताक्षर जुटाए बहुमतको सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएका थिए । प्रदेशमा कांग्रेस संस्थापन इतर समूहका नौजना सांसद छन् ।
एमालेको रणनीति जसरी पनि अहिले गठबन्धन भत्काउने हो । उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेस गर्न ४७ जना सांसदको हस्ताक्षर नै चाहिन्छ ।
प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादी पार्टीका चार र जसपाको एक सांसद छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।