काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा मंगलबार अनुसन्धान टुंग्याउने भएको छ ।
प्रहरीले संगठित अपराधमा अनुसन्धान गरेको आज ५७ दिन पुगेको छ । ६० दिनसम्म मात्र थुनामा राख्न पाइने भएकाले शुक्रबारसम्म अदालतमा सरकारी वकिलले मुद्दा दायर गर्नेछ ।
अनुसन्धानमा तत्कालीन प्रधानमन्त्री र मन्त्रीको समेत संलग्नता देखिए पनि पूर्वसचिवसम्मलाई मात्र मुद्दा दायर हुने सम्भावना छ ।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग आइतबार राति नै बयान कागज गरेर साक्षी बनाउन लागिएको छ ।
उनीहरुको घरमै गएर प्रहरीले बयान कागज गरेको थियो । सञ्चार सचिव कृष्णबहादुर राउतको हकमा पनि मुद्दा नचाउन सिआइबीमाथि दबाब छ ।
उनी पक्राउ परेकोमा बन्दीप्रत्यक्षीकरणको रिटमा छुटेका हुन् । सिआइबीले सोमबार पूर्वमन्त्रीद्वय विजयकुमार गच्छदार र चन्द्रदेव जोशीसँग सिआइबीले बयान लिएको छ ।
उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि सिआइबीले हिरासतमा नराखी हाजिरी जमानीमा छाडेको छ । पूर्वमन्त्री जोशी सोमबार दिउँसो नै सिआइबी पुगेका थिए ।
तर, प्रहरीले बयान नलिई फर्कायो । पछि साँझ बोलाएर बयान लिएको हो । पूर्वमन्त्रीमाथि मुद्दा नचलाउन दबाब आएपछि यसरी साँझ बयान लिएर छाडिएको स्रोत बताउँछ ।
पूर्वमन्त्री डम्बर श्रेष्ठसँग बयान भएको छैन भने पूर्वराज्यमन्त्री सञ्जय साहसँग गत साता नै बयान भइसकेको छ । एक सय ४३ रोपनी जग्गा हिनामिनाको विगत चार वर्षदेखि सिआइबीले अनुसन्धान गरिरहेको छ ।
डेढ वर्षअघि पनि सिआइबीले मुद्दा दायरको प्रक्रिया अघि बढाएकोमा चलखेलकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले फाइल फर्काइदिएको थियो ।
अहिले पनि कर्मचारी, बिचौलिया, व्यापारीविरुद्ध मात्र मुद्दा दायरको हुने सम्भावना छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केट सञ्चालक मिनबहादुर गुरुङसहित हाल थुनामा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।