काठमाडौं - कोशी प्रदेशमा सत्तागठबन्धनबीच पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे सहमति भएको छ ।
सहमतिसँगै आजै बेलुका ५ बजे मुख्यमन्त्री उद्धव थापासँगै नवनियुक्त मन्त्रीहरूको शपथ तय भएको छ । माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको छ ।
गठबन्धनको बहुमत पुर्याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुने भएका छन् । गौतमको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ ।
एकीकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधारमन्त्री हुने छन् । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ ।
यसअघि अर्थमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य साइड लागेका छन् । अब दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार हुँदा पनि उनले चान्स पाउने सम्भावना निकै कम रहेको बताइन्छ ।
प्रचण्डका ज्वाइँ आचार्यले मन्त्रीमा दावी नछोडेपछि बुधबार बिहान हुने भनिएको मुख्यमन्त्रीको शपथ रोकिएको थियो । आचार्य हिक्मत कार्की नेतृत्वको सरकार हुँदै यसअघि थापाको कार्यकालमा पनि मन्त्री बन्न सफल भएका थिए ।
माओवादीमा मन्त्रीका आकांक्षीहरुको संख्या आधा दर्जनभन्दा बढी छ । तर,अरु आकांक्षीको व्यवस्थापन गर्न धेरै अप्ठेरो नभए पनि प्रधानमन्त्रीका ज्वाइँको विषयले माओवादी नेतृत्व सकसमा परेको बताइन्छ । उनलाई एक सातापछि अर्कै मन्त्रालय दिने तयारी भइरहेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।