काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपालको राजनीति अहिले बडो कठिन अवस्थामा रहेको भन्दै कांग्रेसले सम्हालिएर अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कांग्रेस प्रदेश विभागमा मनोनीत भएका पदाधिकारी सदस्यहरूलाई मनोनयन पत्र प्रदान तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसले अब बलियो नेता बनाउने गरी अघि बढ्नुपर्ने बताए ।
उनले मनोनीत संयोजक तथा सदस्यहरूलाई बधाई दिँदै कांग्रेसलाई बागमती प्रदेशमै बहुमत दिलाउने गरी क्रियाशील हुन निर्देशन पनि दिए ।
कांग्रेस १४औं महाधिवेशनपछि संघीय संरचनामा गए पनि बल्ल बागमती प्रदेशले संघीय संरचनाअनुसार विभाग गठन गरेको भन्दै विधानअनुसार बागमती प्रदेश अघि बढेको बताए । उ
नले अहिले नेपाली कांग्रेसमा निराशा उत्पन्न भएको, पार्टी कार्यकर्ता र मतदातासमेत असन्तुष्ट रहेको उल्लेख गर्दै कांग्रेस बलियो नभई देश विकास नहुने बताए ।
‘नेपाली कांग्रेस जनताको पार्टी हो । यहाँ कोही बा र भगवान छैनन् । कांग्रेसमा सबै समान र बराबर छन् । जनताको कांग्रेस भएर अघि बढ्नुपर्छ,’ बानियाँले भने । कांग्रेसलाई विगतमा बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह जस्ता सिनियर नेताहरूले बलियो बनाएझैं अहिले पनि नयाँ पुस्ताका नेताहरू त्यसरी नै आउनुपर्ने उनको भनाइ थियो ।
अब कांग्रेसको इतिहास हेरेर मात्र जनताले भोट नदिने भएकाले अहिलेदेखि नै जनताको पक्षमा काम गर्ने गरी अघि बढ्नुपर्ने उनले बताए ।
सभापति बानियाँले कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य सानुकान्छा श्रेष्ठको संयोजकत्वमा प्रदेश कानुन तथा संसदीय मामिला विभाग, उपेन्द्र लम्सालको संयोजकत्वमा प्रदेश स्थानीय तह विभाग, निर्मला पण्डितको संयोजकत्वमा प्रदेश उद्योग व्यापार वाणिज्य तथा प्रविधि विभाग, राजीवराज पौडेलको संयोजकत्वमा प्रदेश युवा तथा खेलकुद विभाग, रुकु अधिकारीको संयोजकत्वमा प्रदेश गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग, प्रज्ज्वल दवाडीको संयोजकत्वमा प्रदेश भ्रातृसंस्था समन्वय विभाग गठन गरेका थिए ।
मंगलबार ६ वटै विभागका सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीलगायत उपस्थित थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।