काठमाडौं – मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा नेपाली कांग्रेसले गरेको गाउँ भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी स्थानीय नेता कार्यकर्ता कांग्रेसका प्रवेश गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले नवप्रवेशीलाई स्वागत गरेका छन् ।
कांग्रेस नेता बानियाँले एमालेका विजय थिङ, प्रकाश वाइबा, राप्रपाका राजन घिमिरे, अञ्जन लामिछाने, सुनिल दराई लगायत सयौं युवालाई कांग्रेसमा स्वागत गरेका हुन् । बानियाँले कांग्रेसलाई जिताउने गरेर अभियान चलाउन समेत नवप्रवेशीलाई निर्देशन दिएका छन् ।
नेता बानियाँले मुलुक निर्वाचनतिर गएको भन्दै चुनावी अभियानमा लाग्न सबैलाई निर्देशन दिए । अबको १ वर्षभित्र प्रतिनिधि सभाको निर्वाचन हुने उनले बताए ।
‘निर्वाचन चाँडै हुने अवस्था छ । निर्वाचनको परिस्थिति अगाडि बढेको छ,’ बानियाँले भने, ‘१ वर्षभित्रमा निर्वाचन हुन्छ ।’
उनले भने, ‘बकैयाका जनताले रुखमा भोट हाल्नुस् । कांग्रेसलाई जिताउनुस् । बकैयाको कृषि, रोजगारी, विकास, सडक बनाउनेमा मैले सहयोग गर्छु । म जे बोल्छु त्यही गर्छु । कम्युनिस्ट जस्तो झूट बोल्दैन ।’
उनले गरीबका छोराछोरीले निःशुल्क पढ्ने व्यवस्था कांग्रेसले गर्ने समेत बताए । बानियाँले गाउँका विद्यालयहरु पनि निजीसरह प्रविधिमैत्री स्कूल हुने बताए । बानियाँले कांग्रेसले जितेर आउनेबित्तिकै गरीब जनतालाई निःशुल्क उपचार गराउने व्यवस्था गर्ने बताएका छन् ।
कांग्रेस नेता बानियाँले गरीबलाई आधारभूत सुविधाहरु दिने बताएका छन् । ‘कांग्रेसले जितेर सरकार बनायो भने धनीसँग प्रशस्त कर उठाउने छ, उनीहरुलाई उद्योग व्यवसाय गर्न सुविधा दिनेछ,’ उनले भने, ‘धनीसँग कर उठाएर गरीबलाई निःशुल्क शिक्षा र स्वास्थ्य दिइने छ ।’
कांग्रेसले वृद्धवृद्धालाई बसोबासको व्यवस्था गर्ने पनि उनले बताए । ‘वृद्धवृद्धालाई भत्ता होइन, गाँस, बाँस र संस्कृतिअनुसार भजनकीर्तन गर्नुपर्छ । विभेदकारी वृद्ध भत्ता हटाउनुपर्छ,’ बानियाँले भने, ‘धनी र गरीबलाई बराबरी दिइने वृद्धभत्ताको काम छैन ।’
सत्ता स्वार्थका लागि मिलेर जनता झुक्काएका कम्युनिस्टहरु पुनः भोट माग्न जनताका अगाडि आउने बानियाँले बताएका छन् । ‘कम्युनिस्टहरु अबको निर्वाचनमा हार्ने भए पछि कांग्रेस र विदेशीले हामीलाई फुटाए भनेर मिलेर तपाईंहरुसँग माफी मागेर भोट माग्न आउँछन् । यी फटाहाहरुको काम त्यही हो,’ उनले भने, ‘आत्मालोचनाका लागि फेरि हामी मिल्यौं भनेर आउनेछन् । कम्युनिस्टहरुले जनताको लागि गरेको हो भने किन फुटेको हो ? सबै कम्युनिस्ट ठग नै हुन् ।’
बानियाँले कम्युनिस्टहरुलाई जंगलका स्यालको संज्ञा दिएका छन् । ‘स्यालले कुखुरा चोर्दैन भनेको जस्तो । स्यालले नजिक आएर हेर्दा स्याल कुकुर जस्तो देखिने । घरको कुकुरले कुखुराको संरक्षण गर्छ । वनबाट आएको स्यालले त्यो कुखुरा लुटेरै लैजान्छ,’ बानियाँले भने, ‘त्यो हेर्दा कुकुर जस्तो बफादार हो कि होइन विचार गर्नुपर्छ । कम्युनिस्ट भनेका जंगलबाट आएको कुकुर जस्तो देखिन स्याल हुन् ।’
कम्युनिस्ट भनेका जनताप्रति निष्ठा नभएको पार्टी रहेका उनले बताए । ‘कम्युनिस्ट भनेका खरभुजा जस्तो पार्टी हो । झूट बोल्ने पार्टी । बाहिर हरियो । भित्र रातो,’ उनले भने, ‘कांग्रेस भनेको गाजर हो । बाहिर–भित्र दुवैतिर रातो । झूट नबोल्ने पार्टी हो कांग्रेस ।’
‘माओ र लेनिनको नाममा कम्युनिस्टले ठग्ने, कम्युनिस्टको नाममा कहिले एमाले, कहिले माओवादीले ठग्ने । राजाको नाममा राप्रपाले ठग्ने । माओ, लेनिन र राजाको नाममा राजनीति गर्ने कुनै जनताको मान्छे हुन सक्दैन । नेपाली कांग्रेस जनताको पार्टी, जनताको जगमा उठेको पार्टी हो,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।