काठमाडौं – नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार समितिले सञ्चालन गरेको गरिखाने अभियानमार्फत देशभर रोजगारी र आर्थिक उपार्जनका अवसर सिर्जना गरिने समितिका सहसंयोजक ईन्द्रबहादुर बानियाँले बताएका छन् ।
सोमबार काठमाडौंमा भएको १४ वटा जिल्लाका कांग्रेस सभापतिसँगको छलफलमा सहसंयोजक बानियाँले कांग्रेसले रोजगारी दिन नसक्ने बताए ।
मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले भने, ‘कांग्रेसको राजनीति त्याग, समर्पण र बलिदानबाट अगाडि बढेको पक्कै हो, अबको कांग्रेस आर्थिक रूपमा जनताको बीचमा परिवर्तन गरेर जानुपर्छ । साथीहरू जागिर माग्न आउँछन्, जागिर पार्टीले दिन सक्दैन । पार्टीले पोलिसी बनाउने हो । कांग्रेससँग नजिक भएकालाई अवसर दिनुपर्छ, अवसर कसरी दिने भनेर सोच्नुपर्छ ।’
नागरिकका लागि अवसरको सिर्जना गर्ने अभियान गरिखाने अभियान भएको नेता बानियाँले बताए । उनले भने, ‘नेपाली कांग्रेसमा राजनीतिमा लागेर त्याग, बलिदान गरेका धेरै व्यक्तित्वहरू हुनुहुन्छ । हामी सबै वर्गको पार्टी हौं, आम नागरिकको जनजीविकाका लागि, उनीहरूलाई अवसरको सिर्जना गर्ने अभियान हो –गरिखाने अभियान ।’
कांग्रेसले सांसद बिनोद चौधरीको नेतृत्वमा गरिखाने अभियान सञ्चालन गरेको छ । अभियानलाई जिल्लाजिल्लामा पुर्याउन समितिले जिल्ला सभापतिसँग चरणबद्ध छलफल गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।