काठमाडौं – नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको पहलमा मकवानपुरमा ५० हजार डोज कोरोना विरुद्धको खोप आउने भएको छ ।
बाँनिया सहितको टोलीले स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठसँग सोमवार स्वास्थ मन्त्रालयमा गरेको भेटघाटमा बागमती प्रदेशको राजधानी मकवानपुरमा ५० हजार डोज खोप पठाउने प्रतिबद्धता पाइएको छ ।
आगामी २० दिनभित्र मकवानपुरमा ५० हजार डोज कोरोना विरुद्धको खोप पठाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेको बानियाँले बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसँग टेलिफोनमार्फत खोपको अवस्थाबारे जानकारी लिँदा जिल्लामा १ लाख डोज खोप आवश्यक रहेको जानकारी प्राप्त भएको बताउँदै बानियाँले तत्काल पहिलो चरणमा ५० हजार डोज व्यवस्थापन गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयबाट प्राप्त खोप हेटौंडा बजारका पसले, साना एवं मझौला व्यवसायी, निर्माण क्षेत्रसहितका मजदूर, औद्योगिक मजदुरसहित सर्वसाधारणलाई लगाउन बानियाँको सुझाव रहेको छ । पूर्व गृहराज्य मन्त्री बानियाँले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको अस्पतालसहित जिल्लाका स्वास्थ्य संस्थालाई कोरोनाको दोस्रो र सम्भावित तेस्रो भेरियन्टका लागि तयारी अवस्थामा राख्न मन्त्रालयबाट आवश्यक व्यवस्था गर्न र बागमती प्रदेशसहित देशभर यथाशीघ्र खोप व्यवस्थापनका लागि राज्यमन्त्री श्रेष्ठलाई सुझाव दिएका थिए ।
मन्त्री श्रेष्ठले नेपाल आइपुगेको खोप केन्द्रमा भण्डारण गरेर नराखी चाँडोभन्दा चाँडो जिल्लामा पठाउने काम भइरहेको बताउँदै सुझाव अनुसार अघि बढ्ने बताएका छन् ।
छलफलमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सभापति लोक मोक्तान, नेता राजेन्द्र घिसिङ लगायतको सहभागिता रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।