काठमाडौं - चितवनको रामपुर कृषि क्याम्पसमा एमाले अखिल र माओवादी अखिल क्रान्तिकारीले बुथ कब्जा गरी एकलौटी ढंगले स्ववियु निर्वाचनको परिणाम घोषणा गरेकोमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आपत्ति जनाएका छन् ।
नेता बानियाँले क्याम्पस प्रशासनको मिलेमतोमा नेविसंघलाई बाइपास गरी निर्वाचन गरेकाले रद्द गर्न माग पनि गरेका छन् । उनले कम्युनिस्टहरूको निरंकुश कार्यशैलीको विरोधमा उत्रिएका नेविसंघका नेता कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
‘रामपुर कृषि क्याम्पस खैरहनी, चितवनमा स्ववियु निर्वाचनको विषयलाई लिएर भएको विरोधका क्रममा प्रहरीको कुटपिटबाट घाइते हुनुभएका नेपाल विद्यार्थी संघका स्ववियु सभापति उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
घाइते विद्यार्थीहरुको उचित उपचार र घटनाको छानविन गरी दोषीलाई कारवाहीका लागि प्रशासनसँग माग गर्दछु ।
साथै, अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग जोडदार माग गर्दछु,’ बानियाँले विज्ञप्ति जारी गर्दै भनेका छन् । कांग्रेसले शनिबार नै रामपुर कृषि क्याम्पस चितवनको स्ववियु निर्वाचन रद्द गर्न माग गरेको थियो ।
कांग्रेस केन्द्रले १७ चैतमा भएको निर्वाचनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले पक्षपोषण हुनेगरी मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएको भन्दै रद्द गर्न माग गरेको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी घटनाको यथार्थ छानविन गरी निर्वाचन रद्द गर्न सम्बद्ध सबै माग गरेका छन् ।
‘नेविसंघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।