आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बानियाँलाई हराएको खुसियालीमा होटल एभोकाडोमा कांग्रेसको डिजे डान्स

बानियाँलाई हराएको खुसियालीमा होटल एभोकाडोमा कांग्रेसको डिजे डान्स

  • मिडिया डबली
  • सोमवार, पौष १८ २०७९

  • 135.2K
    SHARES

  • बानियाँलाई हराएको खुसियालीमा होटल एभोकाडोमा कांग्रेसको डिजे डान्स

    हेटौंंडा– पार्टी नेतृत्वको आत्मघाती हठका कारण केन्द्रसहित आठैवटा सरकार हातबाट गुमेको पीडाकै बेला हेटौंडामा कांग्रेस नेताहरूले अर्को चर्तिकला गरेका छन् । कांग्रेसी नेताहरूको हर्कतले कम्युनिस्टहरूसमेत लाजले भुतुक्क भएका छन् ।

    सन्दर्भ हो नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताको निर्वाचन । दलको नेताको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन हो । यसमा पक्ष र विपक्ष पार्टीकै नेताहरू हुन्छन् । कांग्रेसले आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन केन्द्रसहित सातै प्रदेशमा दलको नेता निर्वाचनबाट टुंगो लगाउने निर्णय गरेको थियो । जसअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाहेक अन्यत्र चयन भइसकेका छन् ।

    यसैक्रममा पुस १३ गते मकवानपुरको हेटौंडामा दलको नेता निर्वाचन सम्पन्न गरियो । कांग्रेस दलको नेतामा इन्द्र बानियाँ र बहादुरसिंह लामा उम्मेदवार थिए । बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति र लामा केन्द्रीय सदस्यसमेत हुन् । दुवै नेता संस्थापन पक्षकै हुन् । तर निर्वाचनका बेला पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाकै डिजाइनमा कांग्रेस र कम्युनिस्टबीचको जस्तो माहोल खडा गरियो । बानियाँ हराउन हात धोएर लागेकी डिनाले साम, दाम, दण्ड, भेद सबै उपाय अवलम्बन गरेको कांग्रेस नेताहरू बताउँछन् ।

    बागमती प्रदेशमा कांग्रेसबाट ३७ सांसद छन् । बागमती प्रदेश सभापतिसमेत भएकाले नेता बानियाँले सबैलाई हेटौंडाकै विभिन्न होटलमा बस्ने व्यवस्था मिलाएका थिए । तर, सहमहामन्त्री डिनाले २२ सांसदलाई लिएर निर्वाचनको अघिल्लो रात चितवनको सौराहको एक रिसोर्टमा राखेकी थिइन् । उनीहरू सबै मतदानका बेला मात्र हेटौंडा आइपुगेका थिए । सहमतिमै दलको नेता छान्ने प्रयास असफल भएपछि एक घन्टा ढिलो गरी निर्वाचन भयो । लामा २१ मत ल्याएर विजयी भए । बानियाँले १६ मत पाए । 

    लामा दलको निर्वाचन भएको भन्दा पनि होटल एभोकाडोमा बसेका सहमहामन्त्री डिनासहित उनको पक्ष बानियाँलाई हराउन सफल भएको भन्दै खुसियाली मनाउन थाले । होटलमै रहेका लामालाई सबैभन्दा पहिले डिनाका श्रीमान् दिनेश उपाध्यायले फूलको माला लगाइदिए । त्यसपछि अरुले बधाई दिए । 

    उपाध्याय तिनै हुन् जसलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा गत असोज १४ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेका थिए । कांग्रेस मकवानपुरका सामान्य कार्यकर्तासमेत रहेका उपाध्यायलाई पत्नी डिनाकै दबाबमा देउवाले अध्यक्षमा नियुक्त गरेका थिए । उपाध्याय चार वर्षका लागि नियुक्त भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित उपाध्यायलाई श्रीमतीकै दबाबमा बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरिएको भन्दै कांग्रेसमा असन्तुष्टि उत्पन्न भएको छ । कांग्रेसको पकड रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा उठेका उपाध्याय लज्जास्पद ढंगले पराजित भएका थिए ।

    लामालाई बधाई दिएसँगै बिहीबार साँझ होटल एभोकाडोमा डिजे डान्स सुरु भएको थियो । महँगा मूल्यका रक्सी र बियर खाएर डिना पक्षका प्रदेश सांसदहरू नाचेका थिए । पार्टीकै एउटा नेतालाई पराजित गरेको खुसियालीमा अर्को पक्षले डिजे डान्ससहितको रंगीन पार्टी दिएपछि मकवानपुरका कम्युनिस्टहरूले 'अब कांग्रेस सकिएछ' भन्दै खुसी मनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend