काठमाडौं– बुधबार भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा शीर्ष नेताहरूले हस्तक्षेप गरेकै कारण बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पराजित भएका छन् । कांग्रेसका ३७ सांसदमध्ये बानियाँले १६ र दलको नेतामा विजयी भएका बहादुरसिंह लामाले २१ मत ल्याए ।
बानियाँले जित्ने निश्चित भएपछि सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणाले सांसदहरूलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर लामालाई भोट हाल्न निर्देशन दिएको खुलेको छ । मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रवक्ता प्रकाशशरण महत, मदनकृष्ण श्रेष्ठ बानियाँ हराउन हेटौंडाको एभोकाडो होटेलमा अड्डा नै जमाएर बसेका थिए।
कांग्रेस दलको निर्वाचनमा हेटौंडा आएका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीलाई प्रकाशशरण महतले मेरो प्रदेशमा हस्तक्षेप नगर्नु भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। फोनमा महतले धम्की दिएपछि भण्डारीले भने, ‘मलाई राजनीति सिकाउन पर्दैन । यस्तो धम्की अरुलाई दिनु, मेरो रौं पनि हल्लिँदैन ।’
सहमहामन्त्री डिनाले भण्डारीलाई आफू बसेको होटेलमै बोलाएर बानियाँलाई असहयोग गर्न रोईकराई गरेकी थिइन् । भण्डारीले आफ्नो पूर्ण सहयोग बानियाँलाई रहन्छ भनेर डिना बसेको होटेलबाट निस्केका थिए।
पार्टी केन्द्रको हस्तक्षेपका कारण बागमती प्रदेशमा कांग्रेसलाई प्रजापरिषद्कै हैसियत बनाउन लागेको भन्दै जिल्लाका नेता कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । बानियाँलाई बागमती प्रदेशमा कांग्रेसको पिलर नै मानिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।