काठमाडौं - निर्वाचनको मतगणना अन्तिमतिर पुग्दै गर्दा नयाँ सरकार गठनको प्रयास सुरु भएको छ । अब मात्र तीन निर्वाचन क्षेत्रको मतगणना गर्न बाँकी छ । अहिलेसम्म ५५ सिट जितेर प्रत्यक्षमा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
समानुपातिकमा एमाले अगाडि छ । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसको भागमा कम्तीमा ८९ सिट र एमालेले ७७ सिट ल्याउने देखिएको छ । त्यसैले ठूलो दलको हैसियतले नेपाली कांग्रेसले नै सरकार बनाउने निश्चित जस्तै छ ।
प्रधानमन्त्री को बन्ने भन्ने विषय अहिले पेचिलो बन्दै गएको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नै निरन्तरता दिने कि नयाँलाई मौका दिने भन्ने विषयबारे कांग्रेसमा छलफल सुरु भइसकेको छैन ।
यद्यपि व्यक्तिगत रूपमा केही नेताहरू प्रधानमन्त्री नयाँ ल्याउनुपर्छ भन्न थालेका छन् भने केही देउवालाई नै निरन्तरता दिनुपर्ने पक्षमा अभिव्यक्ति दिइरहेका छन् । तर, नयाँ सरकारमा अर्थमन्त्री को बन्छ भन्ने विषय अहिले सबैभन्दा धेरै चासोको विषय बनेको छ ।
अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री नहुँदा देश कस्तो हुँदो रहेछ, देशको अर्थतन्त्र कसरी डामाडोल हुँदो रहेछ ? भन्ने उदाहरण वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रमाणित गरेका छन् ।
यसअघिका विष्णु पौडेलदेखि युवराज खतिवडासम्मकै कारण नेपालको अर्थतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गएको तथ्य छिपेको छैन । त्यसैले नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नयाँ सरकारको अर्थमन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनी नेपालकै एकमात्र खर्बपति हुन् ।
उनलाई देशको आर्थिक क्षेत्र र के कस्ता विकासका योजना चाहिन्छ भन्ने सबै हेक्का छ । त्यही भएर उनले आफ्नो दाबी अर्थमन्त्रीमा रहेको जानकारी पार्टी नेतृत्वलाई गराइसकेका छन् ।
आफू अर्थमन्त्री भएमा उनले एक वर्षभित्र गर्नुपर्ने योजना र खाकासमेत तयार गरिरहेको बताइन्छ । आफूले अघि सारेका योजना समयमै पूरा गर्ने उनको भनाइ छ । सोही कारण अहिले उनी देशको समग्र अर्थतन्त्रको पाटोबारे अध्ययनमा लागेका छन् ।
उनी नेतृत्वको चौधरी ग्रुपले शिक्षा, स्वास्थ्य, बैंकिङ, सडक पूर्वाधार, धार्मिक संरचना निर्माण, उद्योग कलकारखाना, होटल सञ्चालन गर्दै आएको छ । यिनै अनुभव उनी अर्थ मन्त्रालयमा बसेर गर्न चाहन्छन् ।
त्यसैले उनले अर्थमन्त्रीमा दाबी गरेका हुन् । उद्योग व्यवसाय सञ्चालन गरेर मात्र होइन, राजनीतिबाटै देशको मुहार फेर्न सकिन्छ भन्ने उदघोषका साथ चौधरी राजनीतिमा लागेका हुन् ।
त्यसैले चौतर्फी घेराबन्दीका बाबजुद पनि नवलपरासी पश्चिम १ बाट लगातार तीन दशकसम्म सांसद जित्दै आएका हृदयेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गर्दै संसद् यात्रा थालेका छन् । यसअघि उनी समानुपातिकबाट दुईपटक सांसद भइसकेका छन् ।
यो उनको तेस्रो कार्यकाल हो । अब भने उनी अर्थ मन्त्रालयकै कुर्सीमा बसेर देशको विकास गर्ने योजनामा छन् । अहिलेसम्मको परिस्थिति हेर्दा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।
गठबन्धनकै सरकार बने पनि आफूले अर्थमन्त्रीमा दाबेदारी प्रस्तुत गरेको उनले बताएका छन् । नेपाली जनता यसपटक आर्थिक क्षेत्र बुझेको व्यक्तिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालुन् भन्ने मनस्थितिमा देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।