काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी निर्वाचनमा लड्ने बताएका छन्। संगठनकै राजनीति गर्ने उनको भनाइ छ। ‘म संगठनकै राजनीति गर्ने भनेर वडादेखि प्रतिनिधि भएर पार्टीको केन्द्रीय समितिमा आइसकेँ। म ब्याक डोरबाट होइन, फ्रन्ट डोरकै राजनीतिमा छु,’ उनले भने।
उनी कांग्रेसबाट समानुपातिकतर्फ सांसद पनि छन्। अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति रहेको उनले बताएका छन्।
‘नवलपुरका सबै स्थानीय तह र वडा-वडासम्म पुगेर स्थानीय बासिन्दाहरूसँग कुराकानी गरेको छु। त्यहाँको सुख, दुस्खबारे बुझ्ने प्रयास गरेको छु। महाधिवेशनदेखि नै नवलपुरमा धेरै समय दिएको हुँ,’ उनले भने, ‘प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति बनाएर गाउँ-गाउँ गएको छु। तर कहाँ कसलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गर्छ, पार्टीको निर्णय मान्छु।’
नवलपुरमा प्रतिनिधि सभातर्फ दुई क्षेत्र छन्। क्षेत्र नम्बर १ मा ०७४ को चुनावमा कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला निर्वाचित भएका थिए।
यसपालि क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चौधरीले उम्मेदवारी दिने तयारी गरेका छन्। ‘नवलपुरको क्षेत्र नम्बर २ मा कांग्रेसले जितेको छैन, म चुनौती सामना गर्न तयार छु,’ चौधरीले भने। ०७४ मा नवलपुर २ मा नेकपा एमालेले चुनाव जितेको थियो।
चौधरीले स्वतन्त्रहरू पनि स्थानीय चुनाव जितिरहेको प्रसंग निकाल्दै कांग्रेसले उम्मेदवार चयन गर्दा यसबाट पाठ लिन सक्नुपर्नेमा जोड दिए। फरक क्षेत्रका व्यक्ति राजनीतिमा आउन चाहेमा उसको क्षमता हेरेर पार्टीले स्थान दिनुपर्ने पनि चौधरी बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।