काठमाडौं - निर्वाचनको माहोल हेर्दा र गठबन्धनको प्रभाव हेर्दा मंसिर ४ गतेको निर्वाचनपछि बागमती प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित छ ।
किनभने कांग्रेसका प्रदेश सभा सदस्य धेरै निर्वाचित हुने देखिन्छ । सरकार बनाउन ५६ प्रदेश सभा सदस्य चाहिन्छ । कांग्रेस नेतृत्वको गठबन्धनले यसपटक सजिलै त्यति सिट जित्ने आंकलन गरिएको छ ।
ललितपुर, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, दोलखा, रामेछापमा कांग्रेसका अधिकांश प्रदेश सभा सदस्यका उम्मेदवार विजयी हुने निश्चित छ । त्यसैले अहिले बागमतीका नयाँ मुख्यमन्त्रीको अनुहारको चर्चा भइरहेको छ । जसमा कांग्रेसबाट इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने धेरैको अनुमान छ । गठबन्धनमा बानियाँलाई चुनावअघि मुख्यमन्त्री बन्न सहमति नै भएको थियो ।
तर पछि राजेन्द्र पाण्डेले सहमति लत्याए । त्यसपछि बानियाँ निर्वाचनपछि नै आफू मुख्यमन्त्री बन्ने भनेर अभियानमा लागे । अहिले बानियाँ त्यसकै लागि चुनावी प्रचार प्रसारमा लागेका छन् । मकवानपुर २ (ख) मा उम्मेदवारी दिएका इन्द्र बानियाँ मुख्यमन्त्रीको दौडमा सबैभन्दा अघि छन् ।
मकवानपुर २ मा सत्ता गठबन्धनको ५० हजारभन्दा धेरै मत छ । त्यसमा पनि बानियाँ पहिले पनि त्यही निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा पनि बानियाँ १९ हजार २४५ मत ल्याउँदै विजयी बनेका थिए ।
त्यसबेला उनका निकटतम प्रतिस्पर्धी एमालेका राजाराम स्याङ्तानले १७ हजार ८३४ मत पाएका थिए । अहिले त कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन नै छ । बानियाँ कांग्रेसको बागमती प्रदेश समिति सभापति पनि हुन् ।
बागमती प्रदेशमा कांग्रेसको निर्वाचनका कमान्डर रहेका बानियाँलाई मुख्यमन्त्री बनाउन लबिङ नै चलेको छ । समाजसेवा, विकास निर्माणदेखि विपतका बेला सहयोग गर्ने बानीले बानियाँ मकवानपुरमा मात्र होइत, बागमती प्रदेशका सबै जिल्लामा लोकप्रिय छन् ।
त्यसमा पनि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का बानियाँको काम र संगठन विस्तार गर्ने कलाबाट प्रभावित छन् । त्यसैले आगामी निर्वाचनपछि मकवानपुरले दोस्रो मुख्यमन्त्री पाउने चर्चा सुरु भइसकेको छ ।
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिट छ भने समानुपातिकबाट ४४ जना छानिनेछन् । कुल एक सय १० प्रदेश सभा सदस्य निर्वाचित हुने प्रदेशमा नयाँ मुख्यमन्त्रीमा को आउला भनेर अहिलेदेखि नै चासो बढेको हो ।
अघिल्लो निर्वाचनमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेका थिए । तर उनीहरूले सरकार पूरा कार्यकाल चलाउन सकेनन् । अहिले एकीकृत समाजवादीका राजेन्द्र पाण्डे छन् । उनी आगामी निर्वाचनमा धादिङ १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।