नवलपरासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी १ को विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताएका छन् ।
आइतबार नवलपरासी क्षेत्र नं. १ मा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले आफ्नो बाँकी जीवन नवलपरासीको विकासका लागि खर्चने उद्घोष गरे । उनले भने, ‘मेरो जीवनको बाँकी समयको महत्वपूर्ण कार्यभार यो क्षेत्रको विकास हो । यो मेरो प्रतिष्ठाको विषय पनि हो अनि तपाईहरुको विश्वासको विषय पनि ।’
नवलपरासी १ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेता चौधरीले जनतासँग जोडिने अवसर नवलपरासीले दिएकाले यहाँको विकासका लागि कुनै कसर बाँकी नराख्ने उद्घोष गरे ।
‘जनतासँग जोडिने भाग्य मिलेको छ, यति धेरै समर्थन मिलेको छ । अब हाम्रा लागि सबैभन्दा बढि प्राथमिकता अरु के हुन्छ रु मेरो प्राथमिकता अब नवलपरासी क्षेत्र नं. १ हो । यो मञ्चबाटै यो प्रतिवद्धता गर्दछु । मेरो लागि यो भन्दाअरु महत्वपूर्ण केहि हुन सक्दैन,’ उनले भने ।
विरोधी पक्षले विनोद चौधरीलाई भेट्न र टेलिफोनमा कुराकानी गर्नसमेत सम्भव नभएको टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले स्थानीयलाई प्रश्न गरे, ‘तपाईहरुलाई दिनभर दुई हातमा फोन समातेर कुरा मात्रै गर्ने नेता चाहियो कि विकास गर्ने रु हाम्रा देश र विदेशमा जति पनि उद्योग छन्, हामी त्यहाँ कँहि पनि बस्दैनौं । हामी व्यवस्थापन गर्छौं । २४ सैं घण्टा यहाँ बसेर केहि हुँदैन, विकास चाहियो । विकासका लागि सोच चाहियो अनि त्यो पूरा गर्ने प्रतिवद्धता । त्यो हामीसँग छ ।’
उनले नवलपरासीसँग ४० वर्षदेखि सम्बन्ध रहेको उल्लेख गर्दै राजनीतिक रुपमा नवलपरासी १ सँग जोडिएको सात दिन मात्रै भएको बताए । उनले नवलपरासी १ का समस्याबारे आफू जानकार रहेकाले त्यसको समाधानका लागि प्रतिवद्ध रहेको बताए ।
‘यहाँ डुवानका समस्या छ । डुवानको समस्या ४३ वर्षदेखि छ । ४३ वर्षदेखि ६–७ सय घर पुनर्व्यवस्था हुन सक्दैन?, उनले प्रश्न गरे, ‘भूकम्पपछि हाम्रो संस्था (चौधरी फाउण्डेसन) ले दुई हजार ६ सय घर बनाएको थियो । त्यो पनि भूकम्प प्रतिरोधी घर । अनि यहाँका ६ सय घरको पुनर्व्यवस्था हुन सक्दैन ?’
उनले डुवानबाट प्रभावित बस्तीको पुनर्व्यवस्थापनका लागि काम गर्ने बताए । साथै उनले उखु किसान र गण्डक समस्या पनि समाधान गर्ने प्रतिवद्धता जनाए ।
नवलपरासीमा वेरोजगारी समस्या रहेको उल्लेख गर्दै उनले भने, ‘मलाई नवलपुरको उद्योगग्राम बनाउन ३५ वर्ष लाग्यो । त्यहाँ प्रत्यक्षपरोक्ष १० हजार मान्छेले रोजगारी पाएकाछन् । अब मसँग ३५ वर्ष पनि बाँकी छैन तर अब घरघरमा लघु–उद्योग चल्नुपर्छ । मेरो एकल प्रयासले एउटा उद्योगग्राम बनाउन ३५ वर्ष लाग्यो, मलाई जिताएर पठाउनुभयो भने मेरो एक हस्ताक्षरले ७७ जिल्लामै उद्योगग्राम बन्छ । त्यस्तो हुन्छ राज्यशक्ति भनेको ।’
कार्यक्रममा कांग्रेस नेता देवेन्द्रराज कँडेल, प्रदेश सभा उम्मेदवार एवं पूर्व सांसद देवकरण कलवारलगायत उपस्थित थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।