काठमाडौं - आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राजनीतिमा सक्रिय नदेखिएका उद्योगी व्यवसायीले समेत राष्ट्रिय दलबाट टिकट हात पारेका छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उद्योगीदेखि निर्माण, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार एवं पर्यटन क्षेत्रका व्यवसायीले उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फ दुई दर्जनभन्दा बढी व्यवसायी चुनावी मैदानमा होमिएका छन् ।
जसमध्ये नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रबाट चुनावमा होमिने व्यावसायीको संख्या धेरै छ । एकीकृत समाजवादी, जसपा, नेसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र पार्टीलगायत दलबाट समेत व्यवसायीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
विश्वका धनीहरूको सूचीमा सूचीकृत उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको तर्फबाट टिकट पाएका छन् । उनले नवलपरासी–१ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
व्यावसायिक घराना चौधरी ग्रुपका अध्यक्षसमेत रहेका उनी अघिल्लो निर्वाचनमा कांग्रेसबाटै समानुपातिकतर्फबाट सांसद बनेका थिए । शैक्षिक, बैंक, हाइड्रो लगानीकर्ता, अस्पताल सञ्चालक उमेश श्रेष्ठले चितवन २ बाट उम्मेदवारी दिएका छन् ।
उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । कांग्रेसको राजनीतिमा उनको बलियो पकड छ । यस्तै, कांग्रेसबाटै मोहन आचार्य, कान्छाराम तामाङले पनि टिकट पाएका छन् ।
व्यवसायी डा. वीरेन्द्र महतोले जसपाका तर्फबाट सिराहा ४ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । महतोको बैंक तथा वित्तीय संस्था र स्वास्थ्य क्षेत्रमा मुख्य लगानी रहेको छ ।
उनी गैरआवासीय नेपाली तथा चर्चित व्यवसायी उपेन्द्र महतोका भाइ हुन् । निर्माण व्यवसायी विक्रम पाण्डेले चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक राप्रपाबाट उम्मेदवारी दिएका हुन् ।
अघिल्लो चुनावमा उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले नुवाकोट २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
छाया सेन्टरका प्रवद्र्धक पाण्डेको होटेल, एयरलाइन्सलगायत क्षेत्रमा लगानी छ । व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाको प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मेगा बैंकका सञ्चालक रहेका शिवाकोटीको केबलकार, होटेल, मल, ब्रोकर कम्पनीलगायतमा लगानी रहेको छ । उनी लगानी बोर्ड नेपालका आमन्त्रित सदस्यसमेत हुन् ।
बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका किसान श्रेष्ठको होटेल, ग्यास, घरजग्गा, कृषिलगायतका क्षेत्रमा लगानी रहेको छ । एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका उनले हालै नेपालकै चर्चित नेपाल ग्यास उद्योग खरिद गरेका थिए ।
यस्तै, कांग्रेसबाट पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा–१, निर्माण व्यवसायी बहादुरसिंह लामा, नुवाकोट–२ ख, डेन्टल हस्पिटल सञ्चालक श्यामकुमार घिमिरे सिन्धुली–१, मेडिकल कलेज सञ्चालक डा. सुनील शर्माले मोरङ–३, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिन्दु थापाले कास्की–२ ख बाट टिकट पाएका छन् ।
एमालेबाट म्यानपावर व्यवसायी दानबहादुर कार्कीले मोरङ–२ क बाट, भाँडाकुँडा उद्योगी राजकुमार गुप्ताले पर्सा–३ बाट, काठ मिल सञ्चालक जालिम मियाले पर्सा ४ बाट, होटेल व्यवसायी गणेशमान गुरुङले कास्की–३ क बाट, सौन्दर्य कला व्यवसायी मीना गुरुङले कास्की–२ ख बाट टिकट पाएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।