काठमाडौं - प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल शनिबार मध्यरातिदेखि सकिएको छ । आजदेखि दुई सय ७५ प्रतिनिधिसभाका र तीन सय ३० प्रदेश सभा सदस्य निवर्तमान भएका छन् ।
प्रतिनिधिसभाको कार्यकाल सकिएलगत्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारीमा लागेका छन् । आइतबार बिहान उनले सर्वोच्च अदालत प्रशासनलाई फोन गर्दै आजदेखि नियमित काममा फर्कने संकेत गरेका हुन् ।
जबकि जबराविरुद्धको महाअभियोग प्रतिनिधिसभाले नयाँ संसदलाई छाडेको छ । तर, जबरा भने आफूमाथि लागेको महाअभियोग प्रमाणित नभएको र संसदको कार्यकाल सकिएको भन्दै सर्वोच्च फर्कन लागेका हुन् ।
उनी अहिले पनि प्रधानन्यायाधीशको सरकारी निवासमै बसेका छन् । राज्यको पाँचौ वरीयतामा रहेका जबराले सरकारसँग कुनै छलफल नै नगरी किन सर्वोच्च फर्कन खोजेका हुन् भन्ने पुष्टि भएको छैन ।
शनिबार राति महाअभियोग सिफारिस समितिमा जबराविरुद्धको महाअभियोग पास गर्ने कि नगर्ने भन्ने विषयमा भोटिङ हुँदा पक्षमा ६ र विपक्षमा पाँच मत परेको थियो । बहुमतले जबराविरुद्धको महाअभियोग अर्को संसदलाई पठाउने गरी प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो ।
त्यसलगत्तै सत्तारुढ गठबन्धनले जबरालाई सर्वोच्चमा नफर्कने गरी महाअभियोग अर्को संसदमा पठाउने निर्णय गरेको थियो । जबरा सर्वोच्च फर्कने तयारीमा रहेको खबर फैलिएसँगै झडपको अवस्था सिर्जना हुने संकेत देखिएको छ । सर्वोच्चका न्यायाधीश, सर्वोच्च बारले अवरोध गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।