काठमाडौं - लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ ।
जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट भएको एउटा खेमाले शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विशेष भेला आयोजना गरेको थियो ।
भेलाले युनियनको नवौं महाधिवेशन २८ र २९ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । भेलाले नवौं महाधिवेशन सम्पन्न गर्न उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु सम्मिलित महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रेस युनियनको विधान संशोधनका लागि सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने, केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक समिति गठन गर्ने निर्णय भएको प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्यालले जानकारी दिए ।
यस्तै, युनियनको केन्द्रीय समितिले शुक्रबार केन्द्रीय कार्यालय थापागाउँमा युनियन स्थापना दिवस मनाउने भएको छ ।
युनियनको आठौं महाधिवेशन आठ वर्षअघि पोखरामा सम्पन्न भएको थियो । महाधिवेशनले बद्री सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।