काठमाडौं - देशको अर्थतन्त्र ध्वस्त पार्ने र विदेशबाट आएको अवैध पैसा छुटाउन पत्र लेख्ने अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्नुपर्ने आवाज उठेको छ ।
एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेशबाट आएको अवैध पैसा छुटाउन पत्र लेख्ने अर्थमन्त्रीलाई जेल हाल्नुपर्ने बताएका छन्।
‘अर्थमन्त्रीले कसैले पठाएको पैसा रिलिज गरिदिनुहोस् भनेर पत्र लेख्नै मिल्दैन’, उनले भने, ‘अहिलेका अर्थमन्त्रीले राष्ट्र बैंकलाई दबाब दिएको देखियो, यो अपराधमा अर्थमन्त्रीलाई जेल हाल्नुपर्छ।’
एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले अहिलेका अर्थमन्त्री शर्मा पनि श्रीलंकाका अर्थमन्त्रीजस्तै देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए।
उनले देश आर्थिक रुपमा संकटग्रस्त बनेको बेला नयाँ नोटहरु छाप्नुपर्ने अवस्था आउन सक्ने तर यही बेला गभर्नरलाई निलम्बन गरिएको भन्दै आपत्ति जनाए। ‘कामु गभर्नरको हस्ताक्षर प्रयोग गरेर नयाँ नोट छाप्नै मिल्दैन’, उनले भने, ‘मौद्रिक नीति र बजेट पूर्वसन्ध्यामा गभर्नर हटाइनु झनै खेदजनक छ।’
पाण्डेले सरकारी ढुकुटी रित्तिएका कारण पुँजीगत खर्च रोक्नुपर्ने भयावह अवस्था सिर्जना भएको दाबी गरे । ‘कतिपय साथीहरुले पुँजीगत खर्च बढेन भनेको सुन्छु तर समस्या अर्कै छ’, पाण्डेले भने, ‘सरकारको ढुकुटीमा अहिले ३३ अर्ब रुपैयाँमात्रै छ, ठेकेदारहरुबाट मात्रै ५० अर्ब रुपैयाँभन्दा बढीको माग छ। पुँजीगत खर्च उल्टो रोक्नुपर्ने अवस्था छ।’
पाण्डेले छोकडा, केराउ, सुपारी, मरिच, पोस्ता दानालगायतका वस्तु ठूलो परिमाणमा आयात गरेर ड्युटी डिफेन्सको लाभ लिन मन्त्री शर्मा नै लागिपरेको र यसले विदेशी मुद्रा सञ्चितीमा प्रभाव परेको दाबी गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।