काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको सभापति बनेलगत्तै इन्द्रबहादुर बानियाँले संगठन विस्तारमा ध्यान लगाएका छन् ।
उनकै कारण अहिले मकवानपुरमा मात्र होइन, बागमती प्रदेशका अन्य जिल्लामा पनि कांग्रेसप्रति जनलहर देखिएको छ । पार्टी संगठन मात्र होइन, समाजसेवामा पनि कांग्रेस अग्रपंक्तिमा छ ।
करिब दुई हप्ताको अवधिमा कांग्रेस बागमती प्रदेश समितिले तीन जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ ।
यस्तै जंगली हात्तीपीडित समुदायलाई नगद सहयोगसमेत गरेको छ । कांग्रेस बागमती प्रदेश समितिले बुधबार मात्र चितवनका तीन सय ५० परिवार चेपाङ, तामाङलगायत विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
चितवनको राप्ती नगरपालिका–१२ स्थित विकट गाउँ तिरुवामा पुगेर न्यानो कपडा सहयोग गरिएको हो । सोही कार्यक्रममा एमाले र माओबादी केन्द्र पार्टी परित्याग गरी ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
त्यस्तै मंगलबार धादिङको बेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका तीन सय ५० परिवार विपन्न चेपाङलाई ब्लाङ्केट सहयोग गरिएको थियो ।
कांग्रेस बागमती प्रदेश समितिले करिब दुई हप्ताअघि मकवानपुरको राक्सिराङ र मनहरी गाउँपालिकाका विपन्न चेपाङ, तामाङ, दलित समुदायका ६ सय १० परिवारलाई पनि जाडोबाट बच्न ब्ल्याङ्केट सहयोग गरेको थियो ।
मानवीय सेवालाई अभियानकै रूपमा सञ्चालन गर्ने क्रममा पार्टीले करिब दुई हप्ताअघि सिन्धुलीको कमलामाई र दुधौली नगरपालिकामा जंगली हात्तीपीडित एक सय ४० परिवारलाई नगद पाँच हजारसहित खाद्यान्न सहयोग गरेको थियो ।
जंगली हात्तीले घर भत्काएर बिचल्लीमा परेका कलवार, माझी, तामाङ र दलित समुदायलाई प्रति परिवार पाँच हजार रुपैयाँसहित ब्लाङ्केट, चामल, तेल, नुनलगायतका खाद्यान्न सामाग्री वितरण गरेको सभापति बानियाँले जानकारी दिए ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।