काठमाडौं – अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी सेना फर्काउने निर्णयको बचाउ गरेका छन् ।
विद्रोही पक्ष तालिबानले काबुल कब्जा गरेको दोस्रो दिन बाइडनले ह्वाइट हाउसबाट सम्बोधन गर्दै अमेरिकी सेना फर्काउने निर्णय सही भएपनि अफगानिस्तानका नेता र सुरक्षा फौजले आफ्नो काम नगर्दा तालिबानले सत्ता कब्जा गरेको बताएका छन् ।
आईतवार तालिबानले काबुलस्थित राष्ट्रपति कार्यालयमा कब्जा जमाएको छ भने राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । २० वर्षपछि तालिबानीहरु फेरि सत्तामा आएपछि अब भविष्य के हुने हो भनेर हजारौं अफगानीहरु देश छाड्नका लागि काबुलस्थित हमिद कारजाई विमानस्थलमा पुगेका छन् ।
अमेरिकाले सेना फिर्ता गर्नु गलत भएको चर्चा भइरहेका बेला सोमवार देशवासीका नाममा सम्बोधन गर्दै बाइडनले यति छिट्टै तालिबानीले काबुल कब्जा गर्लान् भन्ने नलागेको भएपनि सेना फर्काउने निर्णय सही भएको बताए ।
बाइडनले भने, ‘म मेरो निर्णयमा अहिले पनि अडिग छु । २० वर्षको अवधिमा मैले थाहा पाएको कुरा के हो भने अफगानिस्तान छाड्ने राम्रो समय कहिल्यै पनि आएन । त्यही भएर हामी अझै त्यहाँ छौं ।’
अमेरिकी सेनाले २० वर्षसम्म अर्बौं डलर खर्चेर बनाएका अफगान सुरक्षा फौजले केही महिनासम्म भए पनि तालिबानलाई रोक्ने विश्वास ह्वाइट हाउसको रहेको थियो ।
बाइडनले भने, ‘यो सबै हामीले सोचेभन्दा निकै छिटो भएको सत्य हो । त्यसपछि के भयो ? अफगान नेताहरुले लत्तो छोडे र देशबाट भागे । अफगान सुरक्षा फौजले पनि तालिबानलाई छोडिदिए । कतिपय ठाउँमा त लड्ने प्रयास पनि गरेनन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।