काठमाडौं – कोरोना भाइरस संक्रमण दर घट्दै गएमा आगामी सोमबारदेखि लामो दूरीका गाडी खोल्न राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहमत भएका छन् ।
आगामी आईतबारसम्म सबै किसिमका गाडी नचलाउन यातायात व्यवसायी समेत सहमत भएका छन् ।
काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका सीडीओसँग बिहीवार भएको संयुक्त छलफलपछि यातायात व्यवसायीले आगामी आईतवारसम्म पर्खिने सहमति गरेका छन् ।
व्यवसायीले यसअघि प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका गाडी चलाउने निर्णय गरेपनि अब सहमतिमा आएका हुन् । कोभिडको अवस्था हेरेर सोमवारदेखि जोरबिजोर नभई सबै किसिमका यातायात चलाउने नेपाल यातायात मजदुर संघले जनाएको छ ।
यातायात व्यवसायी र मजदुर संगठनले शुक्रवारदेखि छोटो तथा लामो दूरीका सबै गाडी चलाउने भनी काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपनि अब सो अवधि सोमबारसम्म सरेको छ ।
गत असार १५ गतेदेखि ३ वटै जिल्ला प्रशसनले जोरबिजोरका आधारमा २५ सिट क्षमताभन्दा माथिका स्थानीय गाडी मात्रै चलाउन निर्देशन दिएको छ । व्यवासायी र मजदुरका संगठनले जोरबिजोर नमान्ने र सबै किसिमका गाडी एकसाथ चलाउने चेतावनी दिएपनि प्रशासनले छलफलमा बोलाएको हो ।
बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सीडीओले यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग छलफल गरेका छन् ।
यातायात व्यवसायीका अनुसार कोरोना भाइरस संक्रमण दर नबढे सोमवारदेखि लामो, मध्यम तथा छोटो दूरीका सबै गाडी चल्ने भएका छन् । संक्रमण बढेको अवस्थामा सोही अनुसार निर्णय लागू हुने भएको छ । व्यवसायीले यातायात सञ्चान गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।
यदि अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।