काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनको सम्पूर्ण कार्य सकेर आगामी साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्ने कार्यसूची तयार पारेको छ ।
विद्यालयले गरेको विद्यार्थीको आन्तरिक मूल्यांकन, जिल्ला समन्वय इकाईमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ गतेभित्र विद्यार्थीको हातमा नतिजा दिने तयारीका साथ काम सुरू हुने बोर्डले जानकारी दिएको छ ।
परीक्षा बोर्डले विद्यार्थी मूल्यांकनका लागि आवश्यक पर्ने कार्यविधि आईतवार पारित गरेको छ । कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन गरिने भएको छ ।
कार्यविधिअनुसार विद्यालयले असार २० गतेभित्र आन्तरिक मूल्यांकनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा निर्धारण गरिएको छ । विद्यालयले असार २० गतेभित्र विद्यार्थीको अन्तिम मूल्यांकनसम्बन्धी अभिलेख जिल्ला समन्वय इकाईमा बुझाउनुपर्ने समय तोकिएको छ ।
शिक्षा समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएको १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने कार्यतालिका बोर्डले बनाएको छ ।
विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन विद्यालयले नै गरेपनि नतिजा प्रकाशन, प्रमाणपत्र जारी लगायतको काम राष्ट्रिय परीक्षा बोर्डबाटै हुने भएको छ ।
बोर्डले विद्यार्थीको आन्तरिक मूल्यांकनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकलाई जिम्मेवार बनाएको छ । जसअनुसार विद्यार्थीको अन्तिम मूल्यांकन गर्न विद्यालयमा ५ सदस्यीय समिति बनाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।
समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अंग्रेजी, गणित र विज्ञान शिक्षक गरी ५ जनाको मूल्यांकन समितिबाट विद्यार्थीको अन्तिम मूल्यांकन प्रमाणित गरिने भएको छ ।
परीक्षा बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अंक दिने भन्ने समेत स्पष्ट प्रावधान बनाएको छ । विद्यार्थीको अत्याधिक मूल्यांकन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै अंक दिनुपर्ने भएमा कारण खुलाउनुुपर्ने प्रावधान बनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।