काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र १२ कक्षाको परीक्षा अनिश्चितकाल लागि स्थगित गरेको छ ।
आज सोमवार बिहान बसेको बोर्डको बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने गरी तोकिएको १२ कक्षाको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोनाका कारण अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित भएका बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
‘सरकारले पनि परीक्षा नचलाऊ भनेको छ, कोभिड पनि बढेको बढ्यै छ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहने, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना प्रकाशित गरेर निकाल्छौं,’ अध्यक्ष पौडेलले भने ।
बोर्डका अनुसार जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी रहेका छन् । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निष्कर्षसहित बोर्ड स्थगित गर्ने निष्कर्षमा पुगेको हो ।
जेठ २६ गतेबाट हुने गरी तोकिएको १२ कक्षाको परीक्षा पनि अन्योलमा रहेको छ । परीक्षा हुन महिना दिन बाँकी रहेको छ तर महामारीले पठनपाठन बन्द रहेको छ, देशभरका अधिकांश जिल्ला निषेधाज्ञा जारी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।