काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न अपिल गरेपछि अतिप्रभावित काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आईतवारदेखि विद्यालय बन्द गर्ने भएको छ ।
आईतवारदेखि विद्यालय बन्द गर्न भोलि शुक्रवार सूचना जारी गर्ने तयारी भइरहेको छ ।
विद्यालय बन्द गर्ने कि खोल्नेबारे शुक्रवार सूचना आउने काठमाडौं महानगरपालिका अन्तर्गत शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।
कोरोनाले १४ जिल्लाका अतिप्रभावित भएका र बालबालिकाको संक्रमित दर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न बिहीवार पुनः आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले अतिप्रभावित शहरी क्षेत्रका विद्यालय बन्द नभए लकडाउन गरिने चुनौती दिएको छ ।
‘स्वास्थ्य संवेदनशील विषय भएकाले सबैले प्राथमिकतामा राखेका छौं । परिस्थितिअनुसार निर्णय गर्छौं,’ उनले भने ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलले शिक्षा मन्त्रालयले विद्यालयबारे सीसीएमसीमा रिपोर्ट पठाइसकेको र मन्त्रिपरिषदमा विवरण भोलि प्रस्तुत गरेपछि मन्त्रिपरिषद्को निर्णय आएपछि विद्यालय समितिको बैठक बसेर विद्यालय बन्द वा खुला गर्नेबारे निर्णय गर्ने बताएका छन् । शुक्रबार बिहान ९ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
अभिभावक संघका अध्यक्ष केशव पुरीले राज्यको गैरजिम्मेवारपनाले आमनागरिक पिल्सिनुपरेको बताए । ‘स्वास्थ्य मन्त्रालयले दोहोर्याइ–तेहर्याई विद्यालय बन्द गर्न सिफारिस गरिरहँदा पनि सरकार केही निर्णय लिन सक्दैन । सरकार कसलाई फाइदा पुर्याउन चाहन्छ, म बुझ्न सक्दिनँ,’ उनले भने ।
महामारीमा स्वास्थ्य मन्त्रालय भरपर्दो माध्यम भएकाले स्वास्थ्यले जारी गरेको सूचनालाई शिक्षा मन्त्रालय र सरकारले गम्भीरतापूर्वक लिनुपर्ने पुरीले बताए ।
ललितपुरको शिक्षा विभागले अभिभावक संघसँग बिहीबार छलफल गरेको र कोरोना लागेका विद्यालय मात्र बन्द गर्ने भन्नेबारे छलफल भएको अध्यक्ष पुरीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।